इन्भेष्टमेन्ट बैंकले बनायो पशुपतिमा महास्नान भवन
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुननिर्माण भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले उक्त भवन उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदा संरक्षण र सम्वर्धन गर्नुपर्नेमा जोड दिनुभयो । पशुपति क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्त्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गरिनु निकै ठूलो उपलब्धि भएको उहाँको भनाइ छ ।
संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति,तामा/पित्तल/ढलौटका मूर्ति, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा,गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला,चित्रकला, मूर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त–अमूर्त सम्पदा सामग्री राखिएका छन् ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको पशुपति महास्नानघरअन्तर्गत उक्त बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा पाँच करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब चार करोड गरी कूल ९ करोड लगानी गरेको हो । पुनर्निर्माणपछि बैंकले आज पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा समेत निरन्तर सहयोग गर्ने बताउनुभयाे ।
टिप्पणीहरू