आन्दोलित विद्यालय कर्मचारीहरु र्यालीमा सामेल
सामुदायिक विद्यालयका कर्मचारीहरुले राजधानीको खुल्ला मञ्चबाट शान्तिपूर्ण र्याली निकालेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आयोजनामा अहिले काठमाडौं महानगरपालिका वडा नम्बर २८ खुल्ला मञ्चबाट र्याली शुरु गरिएको हो ।
सरकारले आफ्नो माग सम्बोधन नगरेको उल्लेख गर्दै विद्यालयका कर्मचारीहरु ९ दिनदेखि आन्दोलित छन् ।
जसअन्तर्गत उनीहरुले आज खुल्ला मञ्चबाट शान्तिवाटिका, भद्रकाली,शहिदगेट, त्रिपुरेश्वर,थापाथली हुँदै माइतीघर मण्डलामा धर्ना दिनेछन् ।
“सम्पूर्ण सामुदायिक विद्यालयका कर्मचारीहरू एक हौं ” भन्ने मूल नाराका साथ निस्किएको र्यालीको नेतृत्व परिषदका अध्यक्ष गंगाराम तिवारीले गरेका छन् ।
त्यस्तै,र्यालीमा महासचिव शान्तिराम योगी, संयोजक बबनकुमार मिश्रसहित दुई सय बढीको सहभागिता रहेको छ ।
उनीहरुले पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्न,सहायक लेखापालको तलब ३६ हजार ७३० र सहयोगीको २६ हजार २१० कायम गर्न,संघीय शिक्षा ऐन, २०२८ संशोधनको व्यवस्था मिलाउन र ६० वर्ष उमेर हदका कारण अवकाश दिइएका विद्यालय कर्मचारीको लागि तत्काल कार्यविधिमार्फत सम्पूर्ण सेवासुविधाको प्रबन्ध मिलाउन माग गरेका छन् ।
विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटकपटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने र संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एकपटकका लागि उमेर हद नलाग्ने प्रबन्ध मिलाउनुपर्ने आन्दोलित कर्मचारीहरुले बताएका छन् ।
अवकाश भइसकेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुनबमोजिम शिक्षकसरहको सेवासुविधा उपलब्ध गराई स–सम्मान अवकाशको व्यवस्था गर्न र विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्ततिवृत्ति आदिको प्रबन्ध मिलाउन जोड दिइएको छ ।
उनीहरु ‘संघीय शिक्षा ऐन जारी गर’,‘पूर्ण सेवासुविधाको ग्यारेन्टी गर’,‘श्रम शोषण गर्न पाइँदैन, हामीलाई ठग्न पाइँदैन’,‘सर्वोच्चको आदेश पालना गर’, लगायतका प्लेकार्ड बोकेर सडकमा उत्रिएका हुन् ।
टिप्पणीहरू