विद्यार्थीले गुण्डागर्दी गरेको भन्दै त्रिविद्वारा प्रहरी माग
त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसर विद्यार्थीहरूबाट असुरक्षित भएको भन्दै सुरक्षाकर्मीको माग गरेको छ । विद्यार्थी सङ्गठनका नाममा दिनदिनै गुण्डागर्दीका क्रियाकलाप बढ्न थालेको दावीसहित उसले सरकारसँग शान्ति सुरक्षा माग गरेको हो ।
त्रिविले विश्वविद्यालयलाई बन्धक बनाउने गरी हुल हुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही गर्न पनि माग गरेको छ । भनेको छ, ‘विद्यार्थीको केही समूहले तालाबन्दी,घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
त्रिभुवन विश्वविद्यालय परिसरमा छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना हुँदा विश्वविद्यालयसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा निर्णय गर्न कार्यकारी परिषद्को बैठक जमलस्थित एक होटेलमा बस्ने क्रममा नेपाल विद्यार्थी सङ्घको एउटा समूहले पसेर अभद्र व्यवहार गर्नुको साथै महत्त्वपूर्ण कागजात लुट्ने कार्य भएको पनि बताइएको छ ।
त्रिविको विज्ञप्तिमा,” पदाधिकारी तथा कर्मचारीहरूको भरपर्दो सुरक्षाअभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाइ हुने भएकोले आफ्नो गरिमा कायम राख्नको लागि दुखद निर्णय लिन बाध्य हुने”समेत उल्लेख छ।


टिप्पणीहरू