विद्यालय कर्मचारीको आन्दोलन स्थगित, वार्तामा जाने तयारी
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलित कर्मचारीलाई वार्तामा बोलाएपछि परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेको बताइएको छ ।
आज बिहान बसेको परिषद् बैठकले वार्तामा जाने निर्णय गरेको अध्यक्ष गंगाराम तिवारीले बताए । वार्ताका लागि एक दुई दिनमा मन्त्रालय जाने निश्कर्ष बैठकले निकालेको उनले जानकारी दिए ।
मन्त्रालयसँगको छलफलपछि पनि आफ्नो माग सम्बोधन नभए थप आन्दोलन चर्काइने उनले चेतावनी दिएका छन् । नेपाल शिक्षक महासंघको समन्वयमा आज बिहान बसेको बैठकले दुई वटा निर्णय गरेको पनि उनले बताए ।
उनले भने, ‘महासंघसँगको बैठकले वार्ताका लागि सात सदस्यीय समिति गठन र हालका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ ।’ समितिले शिक्षकहरुको मागसहित प्रतिवेदन तयार गरेर मन्त्रालय पठाउने तयारी गरिरहेको बताइन्छ ।
यसअघि परिषद्ले विभिन्न माग राख्दै एक साताका लागि सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको थियो । हिजोदेखि आगामी शनिबारसम्म विद्यालय बन्द गर्ने घोषणा गरेपछि मन्त्रालयले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन परिषद्लाई हिजो पत्र पठाएको थियो ।
उनीहरुले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्न, सहायक लेखापालको तलब ३६ हजार ७३० र सहयोगीको २६ हजार २१० रुपैयाँ कायम गर्न, संघीय शिक्षा ऐन, २०२८ को संशोधनको व्यवस्था मिलाउन र ६० वर्ष उमेर हदका कारण अवकाश दिइएका विद्यालय कर्मचारीका लागि तत्काल कार्यविधिमार्फत् सम्पूर्ण सेवा सुविधाको प्रबन्ध मिलाउनुपर्नेलगायत माग राखेका छन् ।
टिप्पणीहरू