कैलाली ५ बाट प्रधानमन्त्री पत्नी आरजु सर्वसम्मत
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा कैलाली– ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ ।
काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (क) प्रदेश समितिको हिजो बसेको बैठकले आगामी प्रतिनिधिसभा सदस्यका लागि पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी आरजुलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । यसै निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा माओवादीको समर्थनमा एमाले उम्मेदवार नारदमुनि रानाले जितेका थिए ।
वाम गठबन्धनको बलमा एमालेले जितेको सो क्षेत्रमा यसपटक प्रधानमन्त्री पत्नी पनि गठबन्धन गरेरै चुनावमा होमिने तयारीमा हुनुहुन्छ । अघिल्लो पटकका यी दुई प्रतिष्पर्धी यसपटक पनि आमनेसामने हुने सम्भावना छ । एमालेले औपचारिक निर्णय नगरे पनि रानालाई नै अघि सार्ने तयार गरेको बताइन्छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएका छन् । काँग्रेसले कैलाली ५ को (क) प्रदेशसभाको लागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेशबहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सीताराम राना छन् ।
समानुपातिकतर्फ १८ जनाको नाम सिफारिस गरिएको छ । जसमा उद्धवबहादुर विष्ट, सीताराम राना, गणेशबहादुर देउवा, सन्तराम चौधरी र आशाराम राना रहेका छन् । रामसमझ राना, प्रभातकुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्बादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमीला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मीप्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम पनि समानुपातिकतर्फ सिफारिस भएको हो ।
टिप्पणीहरू