युनिएजले भन्यो,‘मोबाइल होल्डर नराखी काम गर्न सकिँदैन’
युनियन अफ एप बेष्ड एण्ड गिम ईकोनोमी ईम्प्लोईज (युनिएज) ले उपत्यका ट्राफिक प्रहरी कार्यालयको निर्देशन मान्न नसकिने जनाएको छ । मोबाइल होल्डर नराखिकन राइड शेयरिङ्ग सञ्चालन गर्न नसकिने भएकाले कार्यालयको निर्देशन मान्न नसकिने युनिएजको धारणा सार्वजनिक भएको छ ।
राइड शेयरिङ्ग, फूड डेलिभरी, कुरियर डेलिभरीजस्ता एपमा आधारित काम गर्ने श्रमिकका लागि मोबाइल होल्डर नभई नहुने युनिएजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ट्राफिकले हिजोदेखि सवारी साधनमा मोबाइल होल्डर राखेको भन्दै धमाधम कारबाही गर्न थालेपछि ध्यानाकर्षण भएको जनाइएको छ ।
उसले भनेको छ,‘मोबाइल होल्डर मात्र एक एसेसरिज भएको र यसले सवारी साधनको पर्फमेन्समा कुनै असर नगर्ने तथा कडा ट्राफिक कानून र सडक अनुशासन भएका देशहरुमा समेत आफ्नो सवारी साधनमा मोबाइल होल्डर राख्न अनुमति दिने र सो कार्यका लागि कुनै कारबाही नहुने जानकारी गराउँछौं ।’
मोबाइल होल्डर राखेको आधारमा श्रमिकमाथि भइरहेको कारबाही तत्काल रोक्न उसले जोडदार माग गरेको छ । आफ्नो रोजगारीलाई असर पर्ने कार्यको विरोधमा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।
दुई पाङ्ग्रे सवारी साधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरी कार्यालयले मोबाइल होल्डर हटाउने अभियान थालेको छ ।
टिप्पणीहरू