चौंरीपालन व्यवसायभन्दा पनि बाध्यता

चौंरीपालन व्यवसायभन्दा पनि बाध्यता

– दिपक खत्री

कुनै बेला सिन्धुपाल्चोक जिल्लालाई ‘चौंरीको राजधानी’ भनिन्थ्यो । यहाँका माथिल्लो भेगका तामाङ र शेर्पा जातिको मुख्य आम्दानीको स्रोत चौंरीपालन पेशा हो । तीन महिना मात्र मानव बस्ती छेउछाउ पुग्ने उनीहरु अधिकांश समय विकट हिमाली खर्कमा आफ्नो भविष्य खोजिरहेका हुन्छन् । तर उच्च भेगमा आम्दानीको मुख्य स्रोत चौंरीपालन पेशा अहिले व्यवसायभन्दा पनि बाध्यता बन्न थालेको छ ।

तेम्बाथनका पासाङ तेम्बु शेर्पालाई मेला, पर्व र चाडवाडले कहिल्यै छुँदैन । वर्षमा नौ महिना खर्कमा फिरन्ते जीवन बिताउने पासाङ तेम्बुको निरन्तर सम्पर्क आफ्नै परिवारका सदस्य, चौंरी र याकसँग मात्र हुन्छ । चौंरीको चरन क्षेत्र खोज्दै उनी वर्षको नौ महिना ४ हजार ५ सय मीटरसम्मको उच्च भूभागसम्म पुगेर खर्क बनाएर बस्छन् । सिंगो परिवारको दिनचर्या खर्कमा बित्छ ।

वर्षको तीन ठाउँमा चौंरीको गोठसँगै आफ्ना परिवार बस्ने थलो पनि परिवर्तन भइरहेको हुन्छ । जाडो बढ्दै गएपछि तीन महिना मानव बस्तीको नजिक पुग्ने भएपनि बाँकी समय फराकिलो खर्कमा सीमित व्यक्तिसँगको सहकार्यमै दैनिकी बित्ने गरेको छ ।


चौंरी, खर्क र आफ्नो परिवारको घेरा नै पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका किसानको दैनिकी हो । चौंरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी, घिऊलगायतका परिकारको बजारमा माग बढ्दो छ । एउटै गोठमा कम्तीमा पनि ३० भन्दा बढी चौरी पाल्ने गरेका किसानको उत्पादन लिन व्यापारी खर्क नै पुग्ने गर्छन् । किसानको उत्पादन सस्तोमा किनेर महंगोमा बिक्री गर्ने व्यापारीलाई आर्थिक फाइदा भए पनि चौंरी पालक किसान मारमा देखिन्छन् ।

नालुङ शेर्पा आफूले ऋण गरेर चौंरी पालेको तर वर्षौंसम्म ऋणमुक्त हुन नसकेको यथार्थ बताउँछन् । चौंरी गोठमा जन्मिएका र हुर्किएकाहरु अधिंकाश धेरै युवा अहिले वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक पुगेका छन् । चौंरी व्यवसाय लोप हुने खतरामा पुगेपछि यसको संरक्षण गर्न हेलम्बु र जुगल गाउँपालिकाले बिमा कार्यक्रम अघि सारेको छ ।

परम्परागत शैलीमा चौंरी पाल्दै आएका किसानका गोठ र खर्कमा पुगेर बिमा गरिएपछि उनीहरु खुशी भएका छन् । एउटा चौंरीको ८० हजारदेखि एक लाखसम्म मूल्य पर्ने भएकाले बिमाले राहत पुगेको कृषक नोर्शाङ शेर्पाको भनाइ छ ।

हाल बृद्धबृद्धाले धान्दै आएको परम्परागत पेशाको जगेर्ना गर्न युवाको आकर्षण बढाउन जरुरी भइसकेको बताइन्छ । वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानीको क्षेत्र बन्नसक्ने चौंरीपालनलाई वैज्ञानिक र व्यावसायिक ढंगबाट विकास गर्न सकेमात्र युवाको आकर्षण यो पेशामा फर्कनसक्ने अवस्था दखिएको छ ।

टिप्पणीहरू