विदेशी दबाबमा २ करोड चट्

विदेशी दबाबमा २ करोड चट्

विदेशी दातृ संस्था र मुलुकले गरिब मुलुकलाई कसरी कस्छन् भन्ने अर्को एउटा गतिलो उदाहरण फेला परेको छ । राष्ट्र बैंकको बाह्य लेखापरीक्षण (अडिट) विदेशी फर्म वा कम्पनीको संलग्नतामा हुनुपर्ने दबाबका कारण भर्खरै मुलुकको ढुकुटीलाई दुई करोड रुपैयाँ चुना लागेको छ ।

गत वर्षसम्म महालेखापरीक्षकको कार्यालयले नेपाली अडिटरहरुको फर्म वा कम्पनीलाई उक्त कार्यको जिम्मेवारी दि“दै आएको थियो । त्यसको लागि शुल्क २० लाख रुपैयाँ तोकिएको थियो । त्यही शुल्कमा मोटामोटी छ महिनाभित्र सक्ने गरी केन्द्रीय बैंकको लेखापरीक्षण हुँदै आएको पनि हो । तर यो वर्षदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको नियम भन्दै विदेशी लेखापरीक्षकको आबद्धतामा उक्त कार्य हुन थालेको छ । सोही प्रयोजनको निम्ति महालेखा परीक्षकको कार्यालयले बाध्य भएर टेण्डर गरेको बताइन्छ ।

टेण्डरमा राष्ट्र बैंकको लेखापरीक्षण गर्ने विदेशी कम्पनी वा फर्मले अन्य केन्द्रीय बैंकको अडिट गरिसकेको हुनुपर्ने अनुभवको शर्त राखिएपछि जम्मा दुई वटा फर्मले दरखास्त हालेका थिए । यसमा रजनीश दाहालको देव एशोसिएट्स र सुदर्शन पाण्डेको एसआर पाण्डे कम्पनी आबद्ध थिए ।

तर, टेण्डरको शर्तबमोजिम कम मूल्य कबोल गर्नेलाई नदिएर बढीलाई दिनुपर्ने अवस्था आएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । छनौट निम्ति फर्मको मूल्यांकनमा ८० र २० प्रतिशतको अनुपात राखिएको थियो । त्यसमा अनुभवलाई बढी ग्राह्यता दिइयो । यसअघि केन्द्रीय बैंकको अडिट गरेको हुँदा एसआर कम्पनीले यो वर्षको जिम्मेवारी पाएको छ । उसले बंगलादेशको एउटा कम्पनीस“ग मिलेर निवेदन पेश गरेको थियो ।

अघिल्लो वर्ष २० लाखमा लेखापरीक्षण गरेको सोही कम्पनीले यस पटक दुई करोड २० लाख पाएको छ । तर, त्यो सबै एसआरको का“धमा बन्दुक पड्काएर बंगलादेशीको गोजी भर्ने प्रपञ्च भएको बताइन्छ । स्वदेशी पुँजी, स्वदेशी जनशक्ति, स्वदेशी स्रोतलाई कागजमा तिलाञ्जली दिएर विदेशीको नाम र संलग्नता घुसाई अहिले ११ गुणा मह“गोमा केन्द्रीय बैंकको लेखापरीक्षण गराउन खोजिएको हो ।

टेण्डरमा देवले एक करोड ७४ लाख रुपैयाँ मागेको थियो भने एसआरले दुई करोड २० लाख । अघिल्लो सोमबार टेण्डर खोल्दा दुई करोड २० लाख तोक्नेले काम पाएको छ ।

सबैभन्दा रोचक पक्ष त उक्त रकममध्ये नेपाली लेखापरीक्षकहरुले जम्मा २० देखि २५ लाख मात्र पाउने हुन् । बाँकी सबै बंगलादेशीले खाने भएकाले दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अब ढाका जाने पक्का छ । एक जना नाम चलेका लेखापरीक्षकले भने, ‘काम गर्ने हिजो र आज नेपालीले तर फोकटमा दुई करोड लाने अरु नै ।’

टिप्पणीहरू