जिउँदो मान्छे पोल्नेलाई काँग्रेसले टिकट नदिने

जिउँदो मान्छे पोल्नेलाई काँग्रेसले टिकट नदिने

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका पार्टीका नेता अफताब आलमलाई उम्मेदवार नबनाउने प्रष्ट पारेका छन् ।

लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’ लोकार्पण समारोहलाई आज सम्बोधन गर्दै उनले कुनै ठाउँबाट सिफारिस भए पनि काँग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरेका हुन् । महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने दाबी गरे । उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने बताए ।

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफू आबद्ध हुँदासम्म पार्टीबाट नहुने बताए ।

‘नयनराज दाईले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आश्वस्त पार्दछु,’ उनले भने ।

काँग्रेस रौतहटले बिस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा ललितपुरको नख्खु कारागारमा रहेका आलमलाई हिजो उम्मेदवार सिफारिस गरेको थियो । आलममाथि इँटाभट्टामा ज्युँदो मान्छे जलाएको आरोप छ ।

टिप्पणीहरू