हेटौँडाको मध्यबजारमा ठूलो परिमाणको गाँजासहित बेवारिस ट्रिपर

हेटौँडाको मध्यबजारमा ठूलो परिमाणको गाँजासहित बेवारिस ट्रिपर

लागूऔषध नियन्त्रण ऐन २०३३ ले लागूऔषधको उत्पादन, बिक्री, ओसारपसार र सेवनलाई अपराध मानेर ती कार्यहरुमा संलग्नलाई कारबाहीको भागिदार ठहर्याउँछ । मकवानपुरमै उत्पादन हुने गाँजा, अफिम, चरेस मात्र होइन, भारतबाट नेपालतर्फ आयात हुने खैरो हिरोइन, फेन्सिडाइललगायत विभिन्न नामका लागूऔषधका प्रयोगकर्ता वा कारोबारीहरु निरन्तर मकवानपुरमा पक्राउ पर्दै आइरहेको घटना नौलो होइन ।

तर, बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोक नजिकै राप्तीरोडमा साइड लगाइएको ट्रिपरमा ठूलो परिमाणको गाँजा भेटिनुलाई अनौठो घटना मानिएको छ । तीन सय पाँच किलो गाँजासहित ट्रिपर भेटिएको घटना आज बिहान ३ बजेतिरको हो । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार हेटौँडा ११, थानाभ¥याङमा सवारी चेकजाँच भइरहेको समयमा एकाएक चेकजाँचलाई अटेर गरेर ना. ८ ख १७३८ नम्बरको ट्रिपरलाई भगाइएको हो ।प्रहरीले ट्रिपर भागेको भन्दै तुरुन्त सञ्चार सेटमा रिले गर्दै थियो । बसपार्क प्रहरी चौकीका प्रहरी पनि सडकमा निस्कँदै थिए । एकाएक जिल्ला प्रहरी कार्यालय हुँदै राप्तीरोडतर्फ भागेको ट्रिपर बुद्धचोक नजिकै गएर रोकियो । रोकिएको ट्रिपरबाट ओर्लेर चालक भागे । ट्रिपरमा रातो त्रिपालले छोपेको अवस्थामा ठूलो परिमाणको गाँजा फेला पर्यो । १२ वटा बोरामा तीन सय पाँच किलोग्राम गाँजा फेला परेको प्रहरी उपरीक्षक गौतमले जानकारी दिए ।

‘घटनाबारे अनुसन्धान जारी राखेका छौँ, ट्रिपरधनी पत्ता लगाउन यातायात कार्यालयमा पत्राचार गरिसकेका छौँ’, गौतमले भन्ने । उनका अनुसार भारी बोकाएर ल्याएर ट्रिपरमा गाँजा लोड गरिएको पाइएको हो । मनहरी, खरंगा, जैसिङ, लेवट र नेवारपानी नाका हुँदै मकवानपुरको पहाडी इलाकाबाट गाँजा ल्याइएको हुनसक्ने अनुमान गरिएको छ । अहिलेको भाउ अनुसार बरामद गाँजा ५० लाख रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू