काँग्रेसका प्रदेश महामन्त्री माओवादी नेता जनार्दनको रोजाईबाट उम्मेदवार !
दुई प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेपाली काँग्रेसले हिजो प्रदेश सभाको निम्ति उम्मेदवार सिफारिस गरेको छ । आसन्न मंसिर ४ को निर्वाचननिम्ति आकांक्षीमध्येबाट छानिएका उम्मेदवार नेकपा माओवादी केन्द्रको रोजाई र नेपाली काँग्रेसकै विधान विपरित रहेको भन्दै कार्यकर्ताहरु रुष्ट छन् ।
प्रदेश सभा निर्वाचनमा आकांक्षी उम्मेदवारको नाम सिफारिसका लागि बोलाइएको बैठकमा नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्ण रोकायले प्रदेश समितिबाट एकलौटी नाम सिफारिस गरेर रातारात सदरमुकाम खलंगा भागेको आरोप जिल्ला नेताहरुले लगाएका छन् । केन्द्रदेखि नै सत्ता गठबन्धनसँगै आफू प्रदेश सभा सदस्य हुने निश्चितप्रायः रहेको बताउँदै आएका रोकायले आफ्ना केही निकटवर्तीहरुसँग माओवादी र अर्थमन्त्री जनार्दन शर्माले माओवादी अनुकूल उम्मेदवार काँग्रेसबाट रोजेको बताएका थिए । ती पात्र आफू भएकाले आफूलाई एकल निर्णय गरेर सर्वसम्मत गराउनसमेत मेहनत गरिरहेको काँग्रेसीहरु बताउँछन् ।
तर,जिल्ला उपसभापति हर्कसिंह खत्री,बाँफिकोट गाउँपालिका अध्यक्ष तथा मगर संघ केन्द्रीय सदस्य जनक बाठा मगर,महासमिति सदस्य उपेन्द्र मल्ल,पूर्व क्षेत्रीय सभापति खम्बु मल्ल,पार्टी सचिव तारक शाही, महाधिवेशन प्रतिनिधि गोरख खत्री, पूर्व उपसभापति धीरेन्द्रकुमार बटाला,युवा नेता हरि खनाल, जिल्ला सदस्य टेकबहादुर बस्नेत, प्रदेश प्रतिनिधि नरजित बस्नेत, महाधिवेशन प्रतिनिधि लालबहादुर महतलगायतले प्रत्यक्षतर्फ दाबी गरेपछि बैठक अबेरसम्म लम्बिएको थियोे ।
बैठक लम्बिएपछि रात परेको बहानामा केन्द्रीय सदस्य मानबहादुर नेपालीमार्फत् रोकायले नामावलीको टुंगो लगाउनैपर्ने अड्डी कसेको अरु सदस्यको भनाइ छ । नाम टुङ्ग्याउन अन्तिम समय भएको भन्दै आफ्नै नाम वाचन गरेर प्रदेश क्षेत्रीय समितिको कार्यालयबाट भागेको आरोप कार्यकर्ताहरुले लगाएका छन् । शुरुदेखि नै बाँफिकोटमा कार्यक्रम नराख्न र त्यहाँ बैठक आयोजना गरेमा आफूलाई एकल नाम सिफारिस गरे समस्या हुने बताउँदै आएका रोकाय बैठकका कागजात बोकेर हिंडेको कार्यकर्ताको गुनासो छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा आफ्नो नाम सिफारिस भएपछि माओवादीले चुनावी गठबन्धनमा आफूलाई हेरेर यो क्षेत्र काँग्रेसलाई छोड्ने उनले बताउने गरेका थिए । गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले रोकायलाई मेयरको उम्मेदवार बनाएमा मुसीकोटमा काँग्रेसलाई छाड्न माओवादीले अफर गरेकोसमेत काँग्रेस माझ चर्चा थियो ।
जिल्ला उपसभापति हर्कसिंह खत्रीले माओवादीको रोजाईका उम्मेदवार काँग्रेसले छान्न नहुने भन्दै माइन्युट खोस्न थालेपछि रोकाय बैठक हलबाट रात परेकोे भन्दै निस्केको बताइएको छ । बाँफिकोटको छिनखेतमा बसेको क्षेत्रीय कार्यसमिति बैठकले प्रदेश निर्वाचन क्षेत्र ‘क’ को प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारका लागि कृष्णबहादुर रोकाय, हर्कसिं खत्री र टेकबहादुर बस्नेतको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । क्षेत्रीय उपसभापति रामबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले समानुपातिकतर्फ बालकुमारी गिरी र धीरेन्द्र कुमार बटालाको नाम सिफारिस गरिएको जानकारी दिइएको छ ।
उता सानीभेरी गाउँपालिका ९, सिम्लीमा बसेको प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्यसमिति बैठकले नियमभन्दा तेब्बर बढी संख्यामा उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ छ जना र समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस भएको बताइन्छ । प्रत्यक्षतर्फ प्रेमप्रकाश ओली, खड्कबहादुर डाँगी, शिव आचार्य, थलबहादुर खड्का, लालबहादुर ओली र देवबहादुर ओलीको नाम सिफारिस भएको हो ।
क्षेत्रीय सभापति भद्रबहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । तिलक भण्डारी, सीता ओली, आश्मादेवी गहतराज, मोहन आचार्य, प्रविर ददेल, लोकेन्द्र केसी, देवी पुन, दिपक बिएम र राजकुमार वादीको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा विधानभन्दा बढी आकांक्षीको नाम सिफारिस भएको बताइएको छ ।
क्षेत्रीय समितिले गरेको सिफारिस जिल्ला समितिमा पेश हुने र जिल्लाले प्रदेशमा पठाउने बताइएको छ । नेपाली काँग्रेस रुकुम पश्चिमले प्रतिनिधि सभा निर्वाचनको निम्ति उम्मेदवारहरुको चयन भने आज गर्ने बताइएको छ ।
टिप्पणीहरू