विमानस्थलको भीआईपी कक्षबाट भगाइएका रिजवान र दुर्गा प्रसाईंको ‘इन्टरनेसनल कनेक्सन’
हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भगाइएका रिजवान आलमको मेडिकल माफिया तथा एमाले नेता दुर्गा प्रसाईं उर्फ मार्सीसँग इन्टरनेसनल कनेक्सन भएको प्रहरीले आशंका गरेको छ । आलमलाई हिजो राति दुबईबाट काठमाडौं उत्रिएपछि भीआईपी कक्षबाट एकाएक भगाइएको थियो ।
मार्सीलाई दुबईका राजकुमारसँग दुई महिनाअघि भेटाउने रिजवान नै भएको लाइनबाट अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । आलम हिजै राति नक्सालको नागपोखरीस्थित होटल मेरियटबाट पक्राउ परेका छन् ।
हिजो राति रिजवानलाई मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भीआईपी कक्षबाट भगाएको बताइन्छ । तर मार्सीलाई संयुक्त अरब इमिरेट्सका राजकुमार जुमा अल मोक्तुमलेसँग दुबईमा उनै रिजवानले भेटाएको र जुमा गत महिना काठमाडौं हुँदै झापा पुगेका थिए । उनले मार्सीलाई सुनको जलप लगाइएको लौरो उपहार दिएको समाचारले सर्वत्र चर्चा पाएको थियो ।
प्रहरीले आलम, प्रसाईं र मोक्तुमलेले खिचाएको सामूहिक तस्बिर फेला पारेको बताइएको छ । सोही फोटोका कारण मार्सी र राजकुमार पनि आलमसँगै विवादमा तानिएका छन् । उनले सोही फोटो देखाउँदै अबुधाबी र दुबईमा धेरै नेपालीलाई ठगेको समाचारहरु पनि प्राप्त भएको प्रहरीको दाबी छ ।
आलम पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोललाई खबर गरेको र उनको राहदानी कालोसूचीमा रहेको देखिएपछि अध्यागमन कार्यालयले प्रहरीलाई हिजो राति तत्काल खबर गरेको थियो । त्यसपछि प्रहरीले खोज्दै जाँदा उनी नक्सालस्थित होटल मेरियटमा फेला परेका हुन् ।
टिप्पणीहरू