कानुन बनाउने ठाउँमै लिङ्देनको राजीनामा
प्रतिनिधि सभा सदस्य तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्को आयु लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी नहुने बताएका हुन् ।
उनले, ‘अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवा सुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयलाई आग्रह समेत गरेका छन् ।’
बैठकमा बोल्दै लिङ्देनले भनेका थिए, ‘अब भत्ता पकाउन मात्रै संसद् बैठकमा आउँदिन भनेर आउन छाडेको पनि थिएँ । तर, पछिल्लो दिनमा संसद्को आयु मङ्सिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएको थाहा पाएर आफ्नो कुरा राख्न आएको हुँ ।’
उनले संसद्को आयु लम्ब्याउने कुराले आफूलाई असाध्यै लज्जित र दुःखी तुल्याएको बताए । ‘यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रूपमा म यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलब, भत्ता, सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने नियमअनुसार लेखेर पनि दिन्छु ।’
उनले मङ्सिर ४ पछि पनि संसद्को आयु कायम राख्ने अनैतिक काममा सहभागी हुन आफ्नो आत्माले नमानेको उल्लेख गरे ।
यता सरकारले संसदको आयु आगामी चुनावपछि नयाँ संसदको बैठकसम्म लम्ब्याउने उद्देश्यले कानुनको तर्जुमा गरिरहेको छ । सोही विषयको विरोधमा लिङ्देनले राजीनामा दिएका हुन् ।
टिप्पणीहरू