भारतीय स्थल सेनाध्यक्ष माउण्टेन फ्लाइटबाट नाम्चेतिर

भारतीय स्थल सेनाध्यक्ष माउण्टेन फ्लाइटबाट नाम्चेतिर

नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे सोलुखुम्बुको नाम्चे पुग्नुभएको छ । उहाँसहितको टोली नेपाली सेनाको हेलिकप्टर एन ए ०५८ अगुस्तामा त्यता गएको बताइन्छ ।

सेनाध्यक्ष पाण्डेको टोली बिहान पौने ९ बजे काठमाडौं विमानस्थलस्थित ११ बाहिनीअन्तर्गत हवाई सुरक्षा एअर बेसबाट उडेको हो । हिमालको दृश्यावलोकन गर्दै टोली सगरमाथा आधार शिविरको एभरेष्ट भ्यू होटेलमा चिया खाने गरी पुगेको छ ।

आजै दिउँसो काठमाडौं फर्केर सेनाध्यक्षले साँझ पशुपतिमा हुने आरती अवलोकन र पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ । भोलि बिहान उहाँ मुक्तिनाथ दर्शनमा जाने सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख नारायण सिल्वालले बताए ।

उहाँलाई हिजो शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

टिप्पणीहरू