कमल थापको गाई खोसियो

कमल थापको गाई खोसियो

अन्ततः राप्रपा नेपालका अध्यक्ष कमल थापाको चाहनाविपरित गाई चुनाव चिन्ह खोसिएको छ । दुई महिनाअगाडि गाई चिन्ह खोज्दै सर्वोच्च अदालत पुगेका थापाले दायर गरेको रिट आज सर्वाेच्चको संयुक्त इजलासले खारेज गरिदिएको छ ।

राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजय ब्यहोरेलगत्तै राप्रपा नेपाल गठन गरेर हिँडेका कमल थापा आफ्नो पार्टीले चुनाव चिन्ह गाई पाउनुपर्ने अडानमा थिए । तर निर्वाचन आयोगले गाई चिन्ह नदिएपछि उनले आयोगलाई विपक्षी बनाउँदै सर्वाेच्चमा गत असार ३० गते रिट निवेदन हाले ।

सर्वोच्च अदालतको प्रारम्भिक बहसपछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइएको थियो । कमल थापाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिएपछि त्यससम्बन्धी विवाद केही समयको निम्ति मत्थर भएको थियो ।

सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको झण्डै ५० दिनपछि उक्त रिट आज खारेज भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाले दायर गरेको रिट खारेज गरिदिएको हो ।

आजको आदेशपछि निर्वाचन आयोगले यसअघि गरेको निर्णय सही ठहरिएको छ । अब उसको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । गत स्थानीय चुनाव उसले आफूलाई प्राप्त तीर चिन्हमा नलडी एमालेको सूर्य चिन्हमा तालमेल गरेको थियो ।

टिप्पणीहरू