विदेशको निम्ति काम गर्ने काँग्रेस सांसद अमरेशको नाम तलबाट छुट्यो
आगामी निर्वाचन नजिकिँदै गएसङ्गै विभिन्न जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिम्ति उम्मेदवार सिफारिस हुने क्रममा काङ्ग्रेस सांसद अमरेशकुमार सिंह एमाले र माओवादी नेताको दैलो धाउन थालेका छन् । आफ्नै जिल्ला सर्लाहीबाट कारवाहीमा परेका उनको नाम उम्मेदवार सिफारिसमा परेको छैन ।
सँधै भारतीय संस्थापन पक्षको प्रतिनिधिको रुपमा परिचय दिँदै आएका उनी पछिल्लो पटक राष्ट्रिय राजनीतिको मूलधारबाट किनारा लाग्न थालेको आभाष मिलेको छ । विगतका अस्थिर राजनीतिक समयमा हात माथि पार्दै ‘सबैको मान्छे’ बन्दै आएका उनी अहिले जिल्ला र नेपाली काँग्रेसभित्र समेत अलोकप्रिय भएको बताइन्छ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद सिंहलाई स्थानीय समितिले गत स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको प्रमाणसहित कारवाही सिफारिस गरेको छ । सोही कारण उनी आगामी दिनमा उम्मेदवार हुनसक्ने सम्भावना क्षीण हुँदै गएको काँग्रेसीहरु बताउँछन् ।
सोही सन्दर्भमा उनले पछिल्लो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग २१ गते मङ्गलवार राती सवा ७ देखि ८:३५ सम्म गरेको भेटलाई अर्थपूर्ण मानिएको छ । सत्ता गठबन्धनभित्र शीर्ष नेता र केही जिल्लास्तरीय नेताको निम्ति सहमति भइसकेको अवस्थामा उनले सर्लाहीमा आफ्नो निम्ति सीट सुरक्षित बनाउने वातावरणको निम्ति अध्यक्ष प्रचण्डलाई कन्याएको खुमलटार स्रोतको दाबी छ ।
सिंहले केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत बालकोट पुगेर लामो भेटवार्ता गरेका थिए । प्रचण्डको अघिल्लो महिना भएको भारत भ्रमणअघि उनको दौडधुुप निकै देखिन्थ्यो ।
गठबन्धनभित्र सिंहको क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारले सीट पाउने पक्का देखिन्छ । तर,उनको सट्टा अरुलाई उठाउन पहल थालिएको छ । उक्त क्षेत्रमा सिंहलाई रोक्न महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ । सिंहलाई छेक्न थापाको नाम सिफारिस भएको सहजै अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पनि सिंहलाई पाखा लगाउने उपायमा सहमत हुनुभएको सिंह विरोधीहरुको भनाइ छ ।
पार्टीभित्र आफ्नो प्रतिकूल वातावरण बन्दै गएकाले अन्तर्राष्ट्रिय बलमा उनी सर्लाहीबाटै उठ्न इच्छुक देखिन्छन् । पाए काँग्रेस,नपाए स्वतन्त्र उम्मेदवार भएर विजयी हुने उनको रणनीति रहेको सिंह निकटस्थहरु बताउँछन् ।
टिप्पणीहरू