कसलाई देखाउन यस्तो गठबन्धन ?
अधिवक्ता प्रेमराज सिलवाल
प्रजातन्त्रमा प्रत्येक नागरिक, जनता र मानिसलाई आफ्नोलागि आवश्यक हुने नीति, विधि, तरिका एवम् नेतृत्व आदि आफैँद्वारा स्वतन्त्र छनोट गर्न पाउने अधिकार हुन्छ भन्ने विश्वव्यापी मान्यता छ । विश्वमा लोकतन्त्र र प्रजातन्त्रको दार्शनिक एवम् वैचारिक मान्यता यही दर्शनमा अडिएको छ । अर्थात कसैले नागरिकको रोजाइ, छनोट र चाहनामाथि दबाब दियो भने त्यहाँ लोकतन्त्रको दार्शनिक आधार मर्दछ । स्वतन्त्र छनोटमाथि बन्देज लगाउने खालका जुनसुकै तरिका र विधि थोपर्नु मानव अधिकारको हनन गर्नु पनि हो ।
भारतीय–अमेरिकी लेखक तथा विधिशास्त्री अमत्र्य सेन (१९३३) जसले अर्थशास्त्रको नोबेल पुरस्कार (सन् १९९८) समेत पाए, द्वारा लिखित प्रसिद्ध पुस्तक ‘डेभलपमेन्ट एज फ्रिडम’ (१९९९) मा भनिएको छ– ‘विकासको लागि प्रत्येक नागरिकको छनोट गर्न पाउने अधिकारको सम्मान गर्नुपर्छ र कतैबाट पनि हस्तक्षेप हुनु हुन्न ।’
नेपालमा अहिले गठबन्धनको नाममा नागरिकको स्वतन्त्र छनोटको अधिकारमाथि घुमाउरो तरिकाले बन्देज लगाउने कार्य मानव अधिकारको पनि उल्लंघन नै हो । लोकतान्त्रिक गणतन्त्रको भविश्यको लागि यो विधि, सोच, तरिका तथा निर्वाचनसम्बन्धी शैली पूरै जनविरोधी देखिन्छ । मानव अधिकारको हनन् मान्छे काट्नु, मार्नु, घाइते बनाउनु, गोली ठोक्नु मात्र हो भन्ने संकीर्ण सोच त्याग्ने र व्यापक दृष्टिकोणबाट मानव अधिकारलाई बुझ्ने हो भने विधिशास्त्री सेनको पुस्तक बढी नै उपयोगी मान्न सकिन्छ । यो मान्यताअनुसार नेपालमा निर्वाचनको लागि गरिएको गठबन्धनले नागरिकको स्वतन्त्र छनोट गर्न पाउने आधारभूत अधिकारको पूरै हनन् गर्न खोज्दैछ ।
मतदातालाई मन लागेको छैन्न् त्यो उम्मेदवार वा पार्टीलाई मत हाल्न, तर गठबन्धन भन्छः– ‘त्यसलाई मत हाल्नैपर्छ !’ जिल्ला वा भूगोलमा एउटा पार्टी, व्यक्ति र समूहले राजनीतिक–सामाजिक र साँगठानिक क्रियाकलाप तथा गतिविधि गर्दै आयो । समाजले नेता भनेर एउटालाई चिन्यो, बढी स्वीकार्यो । एउटाको रगत–पसिना बगेको छ त्यो भूगोलको विकासका लागि । एउटा दल, समूह वा व्यक्तिको लोकप्रियता र संगठन छ तर भोट अर्कैलाई हालिदिनु पर्ने ? एक हजार भोट भएको दल र उम्मेदवारलाई अर्काे दल, समूह र पार्टीहरू मिलेर २० हजार मत कटाईदिनु पर्ने ? बाबा ! योभन्दा विजोगलाग्दो गाईजात्रा अरू केही हुन्छ ? जनता र नागरिकले त्यो क्षेत्रमा त्यो दल वा समूह वा नेतालाई पटक्कै चिन्दैनन्–समर्थन गर्दैनन् वा सम्बन्ध राख्दैनन् । तर विडम्बना, जनताले मन नपराएको दल वा प्रतिनिधिलाई जबर्जस्ती मत हाल्नुपर्ने ! कारण होः–‘गठबन्धन !’ यही कारण यस्तो क्वाँटी गठबन्धनलाई समर्थन गर्नुपर्ने कुनै आधार र कारण देखिन्न ।
भएका दलहरू प्रतिपक्षलाई हराउन मोर्चाबन्दी र घेराबन्दी गर्दैछन् । यस्तो सोच, विधि र तरिका सम्भवतः नेपालबाहेक लोकतान्त्रिक विश्वमा देख्न पाइन्न । चुनावी गठबन्धन बनाउनै नहुने भन्ने चाहिँ होइन । विगतको संघीय र प्रदेश निर्वाचमा नेकपाको चुनावी गठबन्धन थियो । जुन राजनीतिक–वैचारिक तथा साँगठानिक एकताको तहमा गरियो । दार्शनिक, राजनीतिक, वैचारिक, सांगठानिक, ऐतिहासिक, व्यावहारिक, नैतिक तथा समग्रतामा तत्कालीन ‘केमेस्ट्री मिलेको’ गठबन्धन थियो त्यो । यद्यपि त्यो भाँडियो । किन, कसरी र कसले भाँड्यो भन्ने बेग्दै बहसको विषय हो । तर, आज नेपालमा भइरहेको यो बहुरङ्गी र क्वाँटी गठबन्धनको उद्देश्य तथा लक्ष्य के हो ? वैचारिक, राजनीतिक, नैतिक, ऐतिहासिक तथा सैद्धान्तिक आधार के हो ? किन यस्तो प्रकारको विचार तथा दर्शनविहीन खिचडी गठबन्धन गरियो ? यो निर्माण गरिनुमा राष्ट्रिय स्वार्थ, हित र आवश्यकता के–के छन् ? यिनै विभिन्न प्रश्न र सवालमा गठबन्धनवालाहरूको जम्माजम्मी उत्तर एउटै छः–केपी ओलीलाई देखाइदिने !, एमालेलाई साइजमा राख्ने ! तथा बाँडीचुँडी खाने ! बस् । यही हो ? यसैको लागि गठबन्धन ? जनता र मतदाताले आफ्ना वास्तविक प्रतिनिधिको स्वतन्त्र छनोट गर्न नपाउने ? नेपाली जनता आफ्नो क्षेत्रबाट जसलाई हराउन चाहन्छन् अब गठबन्धनको नाममा उसैले जित्ने र माला लगाउने ? जनताले दूधको दूध पानीको पानीजस्तो गरी आफूले चाहेको, कम चाहेको, बढी चाहेको वा समर्थन गरेको मत संख्याबाट प्रष्ट देख्न पाउनु पर्दैन ! जुवामा पनि च्याँखे र खालवाला छुट्टिन्छ ।
यस्तो अतार्किक, संकुचित र खानको लागि गरिएको गठबन्धन आफैले आफ्नै राजनीतिक खुट्टा काट्न यही जनविरोधी उद्देश्य र विधिसमेत सहायक बन्दै छ । अर्थात् गठबन्धन कट गठबन्धनको अवस्था स्वयं गठबन्धनद्वारा सिर्जना हुँदै छ । यसै कारण सिर्जित अनेकौं राजनीतिक, वैचारिक, व्यावहारिक, नैतिक, प्राविधिक आदि पक्षबाट गठबन्धन कट कठबन्धन हुने देखिन्छ ।
निर्वाचित प्रतिनिधि भएको संसद निर्मित कानुन मात्र जनता मान्न बाध्य हुन्छन् । प्रत्येक भोटको सम्मान गरिनु पर्छ भन्ने लोकतन्त्रको मर्म हो । यही मान्यताले एक व्यक्ति एक भोट भनी यसलाई विश्वभर स्वीकार गरिएको हो । अमेरिका र बेलायतमा प्रतिनिधिको सहमतिबिना कर उठाउन नहुने मान्यता यसैमा आधारित छ । यसरी प्रजातान्त्रिक राजनीतिक प्रणालीमा हुने निर्वाचनमा जनमत प्राप्त गरी निर्वाचित हुने कुराको ठूलो महत्व हुन्छ । तर यसको अर्थ जुनसुकै विधि, तरिका, हर्कत तथा गठजोड गरेर चुनावमा विजयी हुनुपर्छ भन्नेचाहिँ होइन ।
बिहार नीतिशकुमार निरन्तर विजयी हुँदै आएपछि धेरै क्षेत्रमा बदलियो । नेपालमा भने सोही सोचलाई पुनर्जीवित गराइँदै छ । जुनसुकै हतकण्डा, तिगडम र हर्कतको प्रयोग गरी जितिने चुनावबाट आउने प्रतिनिधिप्रति नागरिक अपनत्व हुँदैन । निर्वाचनमा थोरै सिट जित्दैमा मात्र कोही दल जनताको नजरमा गिर्ने पनि होइन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा एक सिट बाहेक जितेका छैनन् । यद्यपि, उनी नेपालको राजनीतिक, सामाजिक तथा नैतिक जीवनमा सम्मानित पात्र हुन् । अहिले पनि उनले बोलेको कुराले कतिपय अवस्थामा मुलुक तरंगित बन्ने गरेको छ ।
उनीबाट सबैले मूल्य र सिद्धान्तको राजनीति सिक्नु जुरूरी छ । यसर्थ जसरी पनि धेरै सिट जित्ने सोच, विधि र तरिका गलत हो । यो तरिकाले पुरानो बिहारीशैलीद्वारा हुने निर्वाचनमा नेपाललाई धकेल्न सक्दछ । दार्शनिक सेनले उल्लेख गरेको जस्तो नागरिकको स्वतन्त्र छनोट माथि अंकुश लगाउने कुराले मानव अधिकारको हनन गर्दछ । त्यो लोकतन्त्र, समृद्धि र विकासको पूरै बाधक मान्यता पनि हो । यस्तो तरिका र विधिले नेपालको संघीय लोकतन्त्र समुन्नत बन्न सक्दैन ।
टिप्पणीहरू