भक्तपुरका बुद्धिजीवीबीच यसरी चल्ने गर्छ भनाभन
२०७९ आषाढ १४ गते दिउँसोतिर मधेश प्रदेशका पूर्व गभर्नर राजेश अहिराजले ‘सत्य र असत्य छुट्ट्याएर बोल्न थाल्नुस्, देशले आफैँ गति लिन थाल्छ ।’ भनेर पोष्ट गर्नुभएको थियो । देशको के हुन्छ ठोकुवा गर्न सक्दिनँ तर आज निम्न कुरा सत्य–असत्य हुन् कि हैनन्, छुट्याउँदै–खुट्याउँदै फैसला गर्न पाठकज्यूहरूलाई नै न्यायाधीश बनाएँ ।
विराटनगरमा नागेश कोइराला हस्याङफस्याङ गर्दै छाता पनि नबोकी अर्ध पत्लुन–हाफ पैण्ट लाएर डुबान क्षेत्रको अनुगमन गर्न जानुभएछ । जनताले महानगर प्रमुख भिज्नुभयो भनेर छाता ओढाइदिएछन् । महाराजजस्तो छाता ओढाउनुपर्ने भन्दै त्यसको पनि आलोचना भयो । कार्यभार सम्हालेको एक महिना नहुँदै प्राकृतिक विपद आइलाग्यो । तर, यस्तो विपद मेयरले २ वर्षदेखि सक्नुभएकाले अब गुरुयोजनातिर लाग्नुहुन्छ । र, विज्ञसँग छलफल जारी गर्नुहुन्छ भन्ने ‘उद्घोष’ले छापेको खबर मैले विराटनगर पो आफ्नो भन्ने शीर्षकमा फेसबुकवालमा राखेको थिएँ ।
०७४ सालमा हामी बसेको क्षेत्र सूर्यविनायक–३ ब्रह्मनगरमा बाढी पस्दा त्यसबेलाका एमाले मेयर, उपमेयर आएनन् । अब पनि नडुबोस् है ब्रह्मनगर, नयाँबस्ती, गौरीशंकर मार्ग । रामेछाप–कमलामाई, सिन्धुली नपा–मरिण गाउँपालिका सिन्धुली–सुनकोशी गाउँपालिकाले प्रशंसा पाउन थालिसकेको बेला गोलाञ्जोर गाउँपालिका भने अलमलमै देखिन्छ ।
भक्तपुरमा कोही एमाले, कोही बामाले त कोही माधव आफैँ उठे पनि चुनाव चिह्न पत्ता लाउने प्राविधिक कठिनाइ भएकाले उनी पनि हार्छन् भन्दै थिए त कोही पाँचदलीय गठबन्धनका तर्फबाट महेश बस्नेतसँग माओवादी केन्द्रका नेता दीपशिखा भिड्दै छन् भन्दै थिए ।
कांग्रेसबाट दुर्लभ थापा र देशान्तर सञ्चारकर्मी कविर राणा कुदिरहँदा एक जना कांग्रेस कार्यकर्ता ‘हाम्रा नेतासँग स्थानीय चुनावदेखि विश्वास हटेकाले यिनीहरू आफैँ बिचलित हुन्छन्, महेश बस्नेतले पूरै गठबन्धन नै छिन्नभिन्न पार्छन् हेर्दै जानुहोला नि !’ भनेर असन्तोष पोख्दै थिए, ‘बामालेले यस्तो हल्ला गर्दै गरेको हामीले पनि सुनेका छौं,पराजित मानसिकताको उपज हो, विश्वास गर्नुहुन्न’ भन्नेहरू पनि देखिए ।
नेकपा समाजवादी समर्थक हुन् कि जस्तो लाग्नुहुने अपरिचित एक जना स्थानीय चुनावको परिणामदेखि कांग्रेस नेताहरूबाट विश्वास उठ्यो, मतगणना हुँदा मुटुरोगीको इसीजी रेखाजस्तै कांग्रेस र एमाले उम्मेदवारलाई कसरी तलमाथि मिलाएर हानेको थियो, प्रष्ट देखेका छौं । त्यही गर्न माओवादीलाई सूर्यविनायकको गठबन्धनमा सामेल नगराइएको हो । कांग्रेसले सूर्यविनायकमा माओवादी बिनाको सत्तापक्षीय गठबन्धनलाई पनि धोका दिएको छ’ भनेर जिद्धी गर्दै थिए । ‘स्थानीय चुनावमा दलभन्दा व्यक्तिलाई मतदाताले हेरिने भएकाले एकै दलमा मत नगएको कुरालार्ई मनन गरौं, आरोप प्रत्यारोप नगरौँ’ भन्ने एक कांग्रेस समर्थकको जिकिर पनि सुनियो ।
मैले भनिदिएँ, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुर आउँदा सभापति दुर्लभ थापाले ‘महेशले त शेरबहादुर देउवा उठे पनि हराउँछु भन्नुभएको छ’ भन्दा ‘यस्तो वाहियात कुरा गर्ने ?’ भन्दै अनुहार नै रातोपिरो हुने गरी खबरदारी गर्नुभएको थियो ।’
‘दुई तिहाइको वाम सरकारलाई प्रचण्ड, माधव तथा झलनाथबाट मुक्त गर्न किसान श्रेष्ठ र सर्वेन्द्र खनालसँग मिलेर जसपाका सांसदहरूलाई तराईबाट उठाएर ल्याउने महेश बस्नेतले कांग्रेसका शालिन युवा नेता प्रदीप पौडेलसँग प्राइम टिभीमा ‘म आगामी चुनावमा यही क्षेत्रबाट मज्जाले जितेर देखाइदिन्छु’ भनेर ठोकुवा नै गरेका थिए । ‘स्थानीय निर्वाचनमा उहाँकै रणनीतिले सूर्यविनायक नगरपालिकामा एमालेले जित हासिल ग¥यो । अहिले पनि स्थानीय तहको विकास निर्माणमा बदमासी नहोस् भनेर जनप्रतिनिधिलाई साक्षी राखी आफैँ अनुगमन गर्नुहुन्छ ।
सम्पन्नताका मालिक हुन् रे भन्ने सुनेको थिएँ तर पहिरन पनि साधारण जुत्ता, चप्पल, पाइन्ट लाउनुहुन्छ । बिरामी परे पनि सबैसँग भेट्नुहुन्छ । कसैलाई बिबाह, बिमारी, केटाकेटी पढाउन आपत–विपद परे कांग्रेसका पूर्वपन्त्री खुमबहादुर खड्काले जस्तो सहयोग पनि गर्नुहुन्छ भन्ने सुनेको छु ।’ मैले यति भन्न कांग्रेसका मित्रबाट झटारो आयो ।
‘महेश प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रमुख भएदेखि नै विवादित मानिस हुन्, विराटनगरका परशुराम बस्नेतलाई बचाउन विवादास्पद भूमिका खेलेका कुरा सरले कसरी बिर्सनुभयो, सिन्धुलीमा केशव देवकोटासँग मिलेर काठमाडौंदेखि एक बस मान्छे हतियारसहित माओवादी सिध्याउन जाँदा हाल प्रदेश सभामा माओवादी सांसद राजन दाहालले माफी मगाएर फिर्ता गरेको सरले सुन्नुभएको रहेनछ हगि ! यिनलाई जसरी पनि हराउनुपर्छ ।’
‘राजनीतिमा आत्मालोचनालगायत विभिन्न हतियार अनुकूलताको लागि प्रयोग हुन्छन् । सबैले विगत बिर्सेर नेकपा गठन गरेका थिएनन् र ? अब पुराना कुरा कोट्याउनु समयको बर्बादी हो । मैले पनि विगत हैन वर्तमानको सन्दर्भमा महेशलाई यस्तो भनेको हो’ भन्दै गर्दा ‘महेशकै निर्देशनमा चक्रपथ घेर्न आएका निम्न वर्गका जनतालाई मान्छे लगाएर लखेटेको र भारतका मानवअधिकारकर्मी सुहास चक्माले दि काठमाण्डौं पोष्टमा यदि युवासंघलाई भारतले ब्याक सपोर्ट गरेको हो भने त्यो भूल हुनेछ भन्ने विचार दिएको’ थप प्रसंग एक जना अर्को बासिन्दाले उठाए ।
(लेखक नेपाल सरकारका पूर्वसिडिओ, पूर्वमहानिर्देशक, पूर्वसहसचिव हुन्)
टिप्पणीहरू