काँग्रेसभित्र अनेक रुप,माननीय हुन सबैको दौडधुप

काँग्रेसभित्र अनेक रुप,माननीय हुन सबैको दौडधुप

नेपाली कांग्रेसको एउटा पक्षले चितवनमा बागी उम्मेदवार उठाउने निर्णय गरेको छ । काँग्रेसभित्र विद्रोही समूहको रुपमा परिचित उक्त पक्षको तर्फबाट पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले काँग्रेसका उम्मेदवार नउठेका क्षेत्रमा आफ्ना साथीहरुले मनोनयन गर्ने जानकारी दिएका छन् ।

भरतपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई चुनौती दिँदै गठबन्धनको नाममा कांग्रेसले उम्मेदवारी नदिएका ठाउँमा बागी उम्मेदवार खडा गरिने छ ।’ उनको भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित रहेको सहजै अनुमान गर्न सकिन्छ ।

गत स्थानीय तहमा भरतपुरको मेयरमा काँग्रेसका विद्रोही उम्मेदवारको रुपमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका थिए । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहालले उम्मेदवारी दिएकी थिइन् ।

आगामी निर्वाचनमा तालमेल गर्ने हिसाबले सत्ता गठबन्धनको तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट उठ्ने निश्चित छ । काँग्रेसको विद्रोही पक्षले अध्यक्ष दाहालले उम्मेदवारी दिएको क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने संकेत गरेको हो ।

उता नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको बताएको छ । केही समयअगाडि कारवाही सिफारिस गरिएका नेता अमरेशकुमार सिंहलाई सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवारको रुपमा समावेश गरिएको जानकारी दिइएको छ ।

यसैबीच कांग्रेस उपसभापति धनराज गुरुङले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । उनले उक्त कार्यको शुरुवात आफूबाट गर्न आग्रह गरेका हुन् । गुरुङले उक्त माग र आग्रह सामाजिक सञ्जालमा गरेका छन् ।

टिप्पणीहरू