‘एमाले वकिल’ माथि नगरपालिकाको कागजात लुकाएको आरोप
भक्तपुर,चाँगुनारायण नगरपालिकाको कानुनी सल्लाहकारबाट फालिएका शम्भुप्रसाद दाहाल नगरपालिकालाई जानकारी नै नदिई अहिले पनि पुरानै जिम्मेवारीमा रहेको भन्दै अदालत जाने गरेको तथ्य भेटिएको छ । असार १० गतेको कार्यपालिका बैठकले अर्को कानूनी सल्लाहकार नियुक्त गरेपछि स्वत: बाहिरिएका उनी नगरपालिकासँग सम्वन्धित मुद्दामा बहस पैरवी गर्दै हिँडेको पाईएको हो ।
साउन १ गतेदेखि कानूनी सल्लाहकारबाट हटाइएका उनी लीलानाथ ढुंगानाले नगरपालिकालाई विपक्षी बनाएर हालेको मुद्दामा बहस गर्न साउन २५ गते उच्च अदालत पाटन पुगेका थिए । नगरपालिकाविरुद्धका अन्य दर्जनौं मुद्दामा पनि त्यसैगरी अदालत पुग्ने गरेको तथ्य भेटिएसँगै उनले आर्थिक चलखेल गरेको आशंका नगरपालिकाले गरेको छ ।
नगरपालिकाले नगरसभा बैठकबाट श्रावण १ गतेदेखि किरण न्यौपानेलाई कानूनी सल्लाहकार नियुक्त गरेको छ । तर,दाहालले जिम्मेवारी हस्तान्तरण गरेका छैनन् । नगरपालिकाले उनलाई सम्पूर्ण फाइल बुझाउन पटक-पटक अनुरोध गर्दा अटेरी गरेपछि साउन २५ गते पत्र लेखेर औपचारिक आग्रह नै गरेको थियो ।
नगरपालिकाको जागिर छोड्न आनाकानी गरिरहेका अधिवक्ता दाहालको पेशागत इमान्दारितामाथि उनैका पार्टी सदस्यहरुले प्रश्न उठाएका छन् । उनीविरुद्ध एमाले भक्तपुर,एमालेको कानून विभाग र बार काउन्सिलमा उजुरी परेको पनि खुल्न आएको छ ।
आफैसँगै काम गर्ने सहकर्मीहरुको लाखौं रुपैयाँ हिनामिना गरेको तथा नगरपालिकामा कानूनी सल्लाहकार रहँदा ठूलै रकम हिनामिना गरेको समेत दाहालमाथि आरोप लागेको छ ।
पेशागत इमान्दारिता नभएको आरोप लागेका उनले नगरपालिकाका सम्पूर्ण फाइल घरमा लगेर एकप्रति समेत नबुझाएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले उनीसँग मुद्दाका फाइल माग्दा कागजमा मुद्धाको विवरण लेखेर दिएको तर सक्कल डकुमेन्ट दिन आनाकानी गरिरहेको एक कर्मचारीले बताए । मुद्दाका फाइल नहुँदा नगरपालिका अन्योलमा परेको उनले बताए ।
कानून व्यवसायी परिषद ऐन तथा सो ऐनले निर्दिष्ट गरेका नियमावली तथा आचार संहितालाई समेत लत्याउँदै कानूनको बरखिलाप कार्य गर्दै आएका दाहाल एमाले केन्द्रीय सदस्य तथा पूर्वमेयर सोमप्रसाद मिश्र निकट भएका र उनैको आडमा नगरपालिकाका मुद्दासम्बन्धी कागजात घरमा लुकाई फिर्ता नदिएको अर्का कर्मचारीले आरोप लगाए ।
टिप्पणीहरू