जनप्रतिनिधिको आदेशमा एम्बुलेन्समा यात्रु ओसारिँदै

जनप्रतिनिधिको आदेशमा एम्बुलेन्समा यात्रु ओसारिँदै

बिरामी बोक्ने एम्बुलेन्समा पटक–पटक भाडा लिएर यात्रु बोक्न थालिएपछि स्थानीयले बिरोध सुरु गरेका छन् । डोटीको बडिकेदार गाउँपालिकाको से १ झ २८१ नम्बरको एम्बुलेन्सले जनप्रतिनिधीको आदेशमा यात्रु ओसार्न थालेपछि स्थानीयले कडा बिरोध गरेका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष इन्द्रा भाटको आदेशमा गाउँपालिकाको एम्बुलेन्सले हिजो आज भारतबाट रोजगारी गरी फर्किएका नागरिक बोक्न थालेको आरोप लागेको छ । एम्बुलेन्स सञ्चालन निती नियममा बिरामी बाहेक अन्य बोक्न नमिल्ने प्रष्ट उल्लेख गरिएको भएपनि उक्त नियमको खिल्लि उडाउदै एम्ुलेन्समा यात्रु बोक्न थालेको भन्दै स्थानीयबासी अक्रोसित बनेका छन् । भारत तथा देशका अन्य ठाउँबाट आएका नागरिकको उद्दार गर्नकालागि गाउँपालिकाले एक महेन्द्रा जीप भाडामा लिएपनि उक्त जीप प्रयोग नगरी एम्बुलेन्स नै प्रयोग गरी यात्रु बोक्न थालिएको आरोप लागेको छ ।

उक्त एम्बुलेन्सले अहिले सम्म काठमाण्डौ र भारतबाट आएका गैर बिरामी गरी कम्तीमा पनि ७२ जना यात्रु ओसारेको पाइएको छ । एम्बुलेन्समा यात्रु नबोके जनप्रतिनिधीले जागिरबाट हटाउने जस्ता धम्की दिने गरेको जिल्लाका अधिकांस एम्बुलेन्स चालकहरु बताउँछन् । बिरामी बोक्ने एम्बुलेन्स यात्रु बोक्नमा व्यस्त हुँन थालेको भन्दै जिल्लाका स्थानीयबासी जनप्रतिनिधीसँग आक्रोसित बन्न थालेका छन् । बिरामी तथा घाइतेहरुको उद्दार गरी छिटो अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उदेश्यले अमेरिकामा बस्दै आउनु भएका नेपालीको समयोगमा डोटीका काग्रेस नेता आनन्द विष्टको पहलमा आमा फाउण्डेसनले उक्त गाउँपालिकामा करिब दुई वर्ष पहिले उक्त एम्बुलेन्स प्रदान गरिएको हो । उक्त एम्बुलेन्समा दैनिक यात्रु ओसारिदा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको बडिकेदारका स्थानीयबासी कमल घर्तीको आरोप छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र शाहीले एम्बुलेन्समा गैर बिरामी अर्थात यात्रु बोकेको र बोक्न आदेश दिएको विषयमा छानविन गरीने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोक्नु गलत हो, यात्रु बोक्ने गरेको भन्ने मैलेपनि सुने, त्यो कुरा प्रमाणित भए कानुन बमोजिम कारवाहिका लागि रिफारिस गर्छौँ ।’ उक्त एम्बुलेन्सका चालक राम बडैलाले आफ्नो गाउँपालिकाका उपाध्यक्ष इन्द्रा भाट र वडा नं ४ का वडाअध्यक्ष वीरेन्द्र कोड्केनीको आदेशमा आफुले यात्रु बोक्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले आफुखुसि यात्रु बोकेको हैन, उपाध्यक्ष र वडा नं ४ का वडाअध्यक्षले बोक्न लगाएका कारण बोकेको हुँ, जनप्रतिनिधीले बोक्नु भनेपछि बोक्नै प¥यो नी ।’

भारतबाट आएका गाउँपालिकाका नागरिक नबोके जागिर खाइदिन्छु भन्दै वडाअध्यक्षले एम्बुलेन्सको चाबी खोसेको र पछि बाध्य भएर आफुले यात्रु बोकेको चालक बडैलाको दाबी छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै जिल्लामा यातायातका साधन पनि चल्न बन्द भएपछि अहिले यहाँका अधिकाँस एम्बुलेन्सहरुले महँङ्गो भाडालिएर यात्रु बोक्ने तथा उनीहरुका सरसामान ओसार्दै आएको पाइएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीय बमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोक्ने र सामान बोक्ने काम हुँदैछ, सम्बन्धित निकाए र प्रहरी प्रशासन मौन छन्, कसलाई के भन्ने खोई ।’

सुदूरपश्चिममा अधिकांसका एम्बुलेन्सहरुले महँगो भाडा लिएर यात्रु ओसार्दै गर्ने गरेको पाईने गरेका ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख भरत शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालकलाई एम्बुलेन्समा को को छन् भनेर सोद्धा बिरामी र उनका आफन्त भन्छन्, पछि बुझदा यात्रु देखिन्छन् ।’ बन्दाबन्दीको अधिकाँस समय बडिकेदार गाउँपालिकाको एम्बुलेन्सले यात्रु बोक्दै आएको देखिएको सोही गाउँपालिकाका स्थानीयबासीहरु बताउँछन् ।

यस विषयमा गाउँपालिका उपाध्यक्ष इन्द्रा भाटले एम्बुलेन्समा आरडिटी संक्रमित व्यक्ति मात्र बोकेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, ‘चालकले के भन्यो मलाई थाहा भएन, बिरामी भएका व्यक्ति बोक्नु भनेको हुँ, कोही व्यक्ति घर आउनकालागि सवारी साधन नपाएर अल्पत्र परेका लाई ल्याउन पनि भनेकी हुँ, आफ्नै गाउँपालिकाका व्यक्ति बोके के भयो र ।’

बन्दाबन्दीको समयमा जिल्लामा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको जन गुनासो बढेको छ । केही समय पहिले बन्दाबन्दीमा यात्रु बोकेको भन्दै जिल्लाकै सायल गाउँपालिकाको एम्बुलेन्स ईलाका प्रहरी कार्यालय बुडर डोटीले नियन्त्रणमा लिएर छोडेको थियो ।

टिप्पणीहरू