विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुप्रति एमाले महासचिव असन्तुष्ट

विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुप्रति एमाले महासचिव असन्तुष्ट फाइल फाेटाे
सुन्नुहोस्

सामाजिक सञ्जालमा सक्रियता बढाउन पार्टीपंक्तिलाई बारम्बार निर्देशन दिँदै आएका एमाले महासचिव शंकर पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लाइक, कमेन्ट र सेयर नगरेकोमा असन्तुष्टि जनाएका छन् ।  

पार्टी नेतृत्व र सरकारविरुद्ध योजनाबद्ध भ्रम छर्ने काम भइरहेको जनाउँदै सञ्जालबाट त्यसको सशक्त प्रतिवाद गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पोखरेलले कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । तर, विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुले समेत फेसबुकमा लेख्न जाँगर नचलाएपछि उनी मुख खोल्न बाध्य भएका हुन् । 

हिजो केन्द्रीय समिति बैठक सकिएलगत्तै महेश बर्तौला, योगेश भट्टराईलगायतका नेतासँग पोखरेलले यसबारे गुनासो गरेको बताइएको छ । ‘हाम्रा लाखौँ कार्यकर्ता छन्, तर मेरो स्टाटस सेयर नै हुँदैन’, उनले दुःख पोखेका थिए । 

पोखरेलको भनाई उद्धृत गर्दै एक नेताले जनआस्थासँग भने, ‘नेता–कार्यकर्ताले नेतृत्वको स्टाटस, फोटोहरु लाइक, शेयर गरे पो राम्रो सन्देश जान्छ, प्रचार पनि हुन्छ । तर, साथीहरुले गर्दै गर्दैनन् । धौ धौ दुई–तीन हजार लाइक र तीन–चार सय सेयर जान्छ ।’

त्यसो त, फेसबुकमा लाइक नबढेको गुनासो गर्ने पोखरेल एमालेमा पहिलो नेता होइनन् । यसअघि प्रधानमन्त्री ओलीका निकट सहयोगी, प्रमुख सल्लाहकार तथा उपमहासचिव विष्णु रिमालले औपचारिक कार्यक्रममै ‘केपी शर्मा ओली’ नामक फेसबुक पेजमा लाइक–कमेन्ट–सेयर बढाउन निर्देशन दिएका थिए ।

पार्टीपंक्तिमा ‘समानुपातिक नेता’ भनेर चिनिने रिमालले गत वर्ष एउटा प्रशिक्षण कार्यक्रममा उक्त पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आए पार्टीले बहुमत ल्याउने दाबी गरेका थिए ।

टिप्पणीहरू