अस्पताल तोडफोड निन्दनीय : चिकित्सक संघ
नेपाल चिकित्सक संघले अस्पताल तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि गत सोमबार चितवन मेडिकल कलेजमा भएको तोडफोडप्रति संघले ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरवाही भन्दै अस्वाभाविक आरोप लगाएर तोडफोड गर्नेलगायतका कार्य निन्दनीय भएको संघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
संघले भनेको छ, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरवाही भनेर अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्नेजस्ता अपराधिक कार्य गरेकोप्रति संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’
स्वास्थ्य संस्थामाथि आक्रमण गर्ने कार्यले सेवा प्रवाहमा असर पुगेको संघको ठहर छ । संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ ।त्यस्तै, सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । भरतपुर महानगरपालिका–१३ का रमेश कुँवरको उपचारको क्रममा ज्यान गएको थियो ।
सोही दिन बिहान ग्यास्ट्रिक बढेको भन्दै अस्पताल भर्ना भएका उनलाई बेलुकी चिकित्सकले मृत घोषित गरेपछि एकाएक तनावको अवस्था सिर्जना भएको थियो ।
टिप्पणीहरू