मोरङ्गको चुनावी चित्र : कतै हेभिवेट भिडन्त, सुजातालाई ऋषिको चुनौती, मोदीलाई पछार्न ढकाल मैदानमा

मोरङ्गको चुनावी चित्र : कतै हेभिवेट भिडन्त, सुजातालाई ऋषिको चुनौती, मोदीलाई पछार्न ढकाल मैदानमा

-आषिका लम्साल

प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १२ निर्वाचन क्षेत्र रहेको मोरङमा यसपालीको चुनावी भिडन्त रोचक मात्र नभएर प्रतिस्पर्धात्मक पनि हुने भएको छ । दुई गठबन्धनबीचको कडा टक्कर र राष्ट्रिय राजनीतिका प्रभावशाली पात्रसमेत मैदानमा उत्रिएकाले मोरङको चुनाव रोचक र प्रतिष्पर्धात्मक हुने देखिएको हो ।

४ मंसिरमा हुने चुनावका लागि आइतबार प्रमुख राजनीतिक दलसहित विभिन्न स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । कूल १८ पदका लागि २ सय ७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तर, प्रतिष्पर्धा भने दुई गठबन्धनबीच नै हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको वाम-लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले, राप्रापा र जसपाको गठबन्धनबीच नै मुख्य भिडन्त हुने पक्कापक्की छ ।

सत्ता गठबन्धनका तर्फबाट मोरङमा बागी उम्मेदवारी परेको छैन । तर, एमाले नेतृत्वको गठबन्धनमा भने बागी उम्मेदवारी मात्र परेको छैन अन्तिम समयमा एमालेले सहमति तोडेर उम्मेदवारी दर्ता गराएपछि किचलो समेत निम्तिएको छ ।

डा. शेखर र लालबाबुको भिडन्त

२०७४ को निर्वाचनमा प्रतिष्पर्धा गरेका हेभिवेट उम्मेदवार हुन्, काँग्रेस नेता डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डित । यी दुई यसपटक पनि चुनावी मैदानमा आमनेसामने हुने भएका छन् । दुवैले मोरङको ६ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गराइएर प्रचारमा जुटिसकेका छन् ।

२०७४ को निर्वाचनमा माओवादीको समेत मत लिएर कोइरालालाई पराजित गरेका लालबाबुलाई यसपटक भने चुनाव जित्न जसपाको भर पर्नुपरेको छ । अघिल्लोचोटी माओवादी र एमालेको गठबन्धनकै कारण हार व्यहोरेका कोइरालाई भने माओवादीको साथले यसपटक राहत मिलेको छ । यस क्षेत्रमा जसपाको प्रभाव त्यति धेरै नरहेकाले लालबाबुलाई जित सुरक्षित गर्न सहज नरहेको विश्लेषण भैरहेको छ ।

सत्ता गठबन्धनका उम्मेदवार कोइराला यसैपनि शसक्त्त उम्मेदवार हुन् । काँग्रेसको एउटा खेमाको नेतृत्व गरिरहेका उनलाई गठबन्धनको विश्वास लिएर नतिजा निकाल्नुपर्ने चुनौती भने छ । तर, लालबाबुको क्रेज पहिले जस्तो नरहेको, एमाले फुटेको र विगतमा साथ दिनेहरु लाखापाखा लागेकाले त्यसको सोझो फाइदा कोइरालाई पुग्ने देखिन्छ । इमान्दार मधेशी नेताको उपमा पाएका लालबाबुलाई आजकल ढोंगी नेताका रुपमा समेत प्रचार गर्न थालिएको छ ।

यहाँ सत्ता गठबन्धनबाट प्रदेशसभा ‘क’ मा माओवादीका जीवन आचार्य र ‘ख’ मा काँग्रेसका केदार कार्की दुवै शसक्त्त उम्मेदवार हुन् । एमालेले भने प्रदेशसभा ‘क’ मा बोड्रिङ स्कुल सञ्चालक रिता न्यौपाने र ‘ख’ मा कृष्ण उर्फ परर्शुराम बस्नेतलाई मैदानमा उतारेको छ । न्यौपाने बुढीगंगा गाउँपालिकास्थित नेमुवामा स्कुल चलाउँछिन् । उनको पार्टीमा उल्लेखनीय योगदान नरहेको एमालेकै नेता-कार्यकर्ता स्वीकार गर्छन् । पर्शुराम भने विवादित व्यक्त्ति हुन् ।

प्रदेशसभा ‘ख’ मा एकिकृत समाजवादीका युवा नेता वसिम आलमले पनि उम्मेदवारी दिएका छन् । कुनैबेला परर्शुराम बस्नेतका दाहिने हात मानिने उनी अहिले फरक कित्तामा पुगेका छन् । उनीहरुको व्यक्तिगत सम्बन्धसमेत पहिलेको जस्तो सुमधुर नरहेको बताइन्छ । मुस्लिम समुदायमा मात्र नभएर समाजिक क्षेत्रमा पनि राम्रो पकड राख्ने भएकोले एमालेका पर्शुरामले भन्दा समाजवादीका वसिमले राम्रो मत ल्याउन सक्ने धेरैको आकलन छ ।

शिवकुमार भर्सेज राजकुमार

प्रतिनिधिसभातर्फ मोरङ- ५ मा सत्ता गठबन्धन (वाम-लोकतान्त्रिक गठबन्धन)को तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शिवकुमार मण्डल र एमाले-जसपा गठबन्धनका राजकुमार यादवबीच प्रतिस्पर्धा हुनेछ । यादव जसपाका केन्द्रीय नेता हुन् ।

निवर्तमान सांसदसमेत रहेका मण्डल आफ्नो निर्वाचन क्षेत्रमा अलोकप्रिय छैनन् । यहि क्षेत्रबाट निरन्तर जितिरहेको, गठबन्धनको साथ रहेको र विकास निर्माणका काम पनि गरेकाले उनलाई बलियो उम्मेदवार मानिएको हो । तर, जसपाका यादव भने अनटेष्टेड उम्मेदवार हुन् ।

अर्कोतिर एमालेबाट टिकट निश्चित भैसकेका योगेन्द्र मण्डलको अन्तिम समयमा टिकट खोसिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जीवन विकास नामको लधु वित्त सँस्थाका सञ्चालक रहेका उनी समाजसेवीका रुपमा पनि चर्चित छन् । त्यसैले उनले उम्मेदवारी फिर्ता नलिए राजकुमारका लागि चुनाव जित्न चुनौती थपिने देखिन्छ ।

यहाँ प्रदेशसभा ‘ख’ मा काँग्रेसका चर्चित नेता अमृत अर्यालले उम्मेदवारी दिएका छन् । अर्यालको आफनो पकड क्षेत्र भएकोले एमाले-जसपा गठबन्धनलाई जित सुनिश्चित गराउन कडा चुनौतीको सामना गर्नुपर्ने पक्का छ । अर्यालको प्रतिस्पर्धीका रुपमा जसपाका जयराम यादवले प्रतिस्पर्धा गर्दैछन् । यादव हाल प्रदेश १ सरकारका स्वास्थय मन्त्री छन् ।

यस क्षेत्रमा राप्रपाका रेवतबहादुर थापाले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । मोरङ-५ ‘क’ मा काँग्रेसका गयानन्द मण्डल र एमालेका सन्तोष साह उम्मेदवार छन् । यहाँ यी दुईबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

मोदी र ढकालको भिडन्त

मोरङको ४ नम्बर क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी र एमालेका विनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् । मोदीले २०७४ को निर्वाचनमा काँग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए । थारु बाहुल्य क्षेत्र भएकोले यहाँ मोदीको पकड बलियो छ । तर, स्थानीय चुनावमा धेरै पालिका र वडाहरुमा जित हासिल गरेकोले सहजै चुनाव जित्न सकिने एमालेका उम्मेदवार ढकालको दावी छ ।

यहाँ प्रदेशसभातर्फ ‘क’ मा गबन्धनबाट काँग्रेसका गुरुराज घिमिरे र ‘ख’ मा काँग्रेसकै भिम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट ‘क’ मा जयप्रकाश चौधरी र ‘ख’ मा जीवन घिमिरे प्रतिष्पर्धामा छन् । एकिकृत समाजवादीका महेश रेग्मीले पनि ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन् । रेग्मीले एमालेका घिमिरेको मत काटने अनुमान गरिएकाले प्रदेशतर्फ पनि प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

काँग्रेसबाट प्रदेशसभामा उम्मेदवार बनेका पराजुली विराटनगर महानगरका निर्वतमान मेयर हुन् । उनी समाजिक साँस्कृति सम्बन्धले गर्दा चर्चित छन् । यस्तै गुरुराज घिमिरे पनि प्रभावशाली युवा नेता हुन् ।

शर्मासँग भानुभक्त्त र रेखाको प्रतिस्पर्धा

मोरङ-३ मा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका सुनिल शर्मा, एमालेबाट भानुभक्त्त ढकाल र राप्रपाकी रेखा थापाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । राप्रपाको प्रभाव क्षेत्र नभए पनि फिल्मी क्रेजले गर्दा रेखाले यहाँ राम्रै भोट बटुल्ने आकलन गरिएको छ ।

दोहोरिएर उम्मेदवारी दिएपनि भानुभक्त्तले खासै जस पाएका छैनन् । जसका कारण नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मा बलिया उम्मेदवार मानिएका छन् ।

प्रदेश सभातर्फ ‘क’ मा गठबन्धनको तर्फबाट काँग्रेसका शेखरचन्द्र थापा अनि ‘ख’ मा एकिकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट ‘क’ मा किरोश राई र ‘ख’ मा ज्ञानेन्द्र सुवेदी उम्मेदवार बनेका छन् ।

सुजातालाई ऋषिको चुनौती

मोरङ-२ मा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसकी सुजाता कोइरालालाई एमालेका ऋषि पोखरेलले चुनौती दिएका छन् । पहिले काँग्रेसबाट डा. मिनेन्द्र रिजालले जितेको यो क्षेत्रमा यसपाली सुजाताले आफनो बुबाको पुर्खोली क्षेत्र भन्दै टिकट लिएकी हुन् ।

एमालेका पोखरेले यो क्षेत्रका निर्विकल्प उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा पराजय भोगेका उनी यसपाली कमजोर छैनन् । त्यसैले सुजतालाई उनले कडा चुनौती दिने निश्चितै छ ।

यहाँ गठबन्धनबाट प्रदेश ‘क’ मा माओवादी केन्द्रका गणेश उप्रेती र एमालेबाट डिबी कार्कीले अनि ‘ख’ मा काँग्रेसका विनोद कार्की र एमालेका लिलाबल्लभ अघिकारीले उम्मेदवारी दिएका छन् ।

डिकबहादुर र घनश्यामको भिडन्त

मोरङको क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनबाट काँग्रेसका डिकबहादुर लिम्बु र एमाले नेता घनश्याम खतिवडा प्रतिष्पर्धामा छन् । लिम्बुले २०७० को निर्वाचनमा माओवादीका वर्षमान पुनलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा भने एमालेका खतिवडासँग वाम गठवन्धनका कारण उनले पराजय भोग्नुपर्यो ।

सामुदायिक बनको नेतृत्व गरेको र विकासका लागि निरन्तर खटिरहने भएकोले डिकबहादुर यो क्षेत्रमा रुचाइएका नेताका रुपमा चिनिएका छन् । जनजाति समुदायको बाहुल्यता भएको र गठवन्धनको साथ रहेकाले पनि यसपाली उनको जित सहज हुने आंकलन छ ।

पार्टीको आन्तरिक राजनीति र निर्वाचन क्षेत्रमा लोकप्रिय भएपनि एमालेका खतिवडालाई गठवन्धनविरुद्ध जित निकाल्न चुनौती रहेको बताइन्छ । टिकट वितरणमा असन्तुष्टि जनाउदै एमाले प्रदेश सचिवालय सदस्य डिल्ली अधिकारी, मोरङका सचिव रुपेश खतिवडालगायतले पार्टी परित्याग गरेका कारण पनि उनको चुनावी प्रतिष्पर्धा कठिन बनेको स्थानीयबीच चर्चा छ ।

यहाँ प्रदेससभा ‘क’ तर्फ माओवादी केन्द्रका कुशल लिम्बु र ‘ख’ तर्फ एकिकृत समाजवादीका उपेन्द्रप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट ‘क’ मा उमाकान्त गौतम र ‘ख’ मा खडग बस्नेतको उम्मेदवारी परेको छ ।

टिप्पणीहरू