ठूला पार्टीमा ठूलै नेता ठहरै

ठूला पार्टीमा ठूलै नेता ठहरै

-राजकुमार राय

एमालेमा भीम रावल र घनश्याम भुसाललाई केपी ओलीले भित्तामा पुर्याएकै शैलीमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजाल र डा. अमरेश सिंह सभापति शेरबहादुर देउवाको पेलाइमा परेका छन् । देउवाले गत पुसमा सम्पन्न महाधिवेशनदेखिको रिस फेर्दा कांग्रेसका यी दुई डाक्टर टिकटबाट बन्चित भएका हुन् ।

आफ्नो विपक्षमा उभिएका डा. शेखर कोइरालानिकट यी दुई हस्तीलाई ‘टिकट दिन सकिदैन’ भन्दै देउवाले संसदीय बोर्डको बैठकमा पटक-पटक दोहोर्याएका थिए । नेताहरु शेखर, कृष्ण सिटौला, विमलेन्द्र निधिले ‘उनीहरु चुनावमा जितेर आएका छन्, क्षेत्रमा पनि पकड राम्रो छ, टिकट दिनुपर्छ नत्र गलत सन्देश जान दिनु हुँदैन’ भन्दा पनि देउवा टसमस हुनुभएन । ‘सबै सिटिङ एमपीले पाउने तर उहाँहरुलाई मात्र किन नदिने ?’, नेताहरुको जोडमा पनि देउवाको अडान परिवर्तन भएन ।

गत निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १६५ मा जम्मा २३ सीट जित्दा डा. रिजाल र डा. सिंह पनि आ-आफ्नो क्षेत्रमा जितेर आएकाले उनीहरुले टिकट पाउनुपर्ने माग बैठकमा जोडतोडका साथ उठेको हो । मोरङ-२ मा सुजाता कोइरालाले टिकट पाएकी छन् । मीनेन्द्रले एक महिना पहिले नै आफू टिकटबाट वञ्चित हुनसक्ने पूर्वअनुमान लगाइसकेका थिए । आफ्नोविरुद्ध बालुवाटारबाटै क्षेत्र र जिल्लामा भनेर उम्मेदवार सिफारिस गराइएको उनको बुझाइ थियो । त्यसैबीच सुजाताले जिल्लाका कांग्रेस कार्यकर्ताहरुसंग ‘यो क्षेत्रमा मैले नै टिकट पाउने हो, आफू नपाए ! मीनेन्द्रले पनि नपाउने, बरु अरु कसैले पाउने’ सुनाउँदै आएकी थिइन् । यस्तो जानकारी मीनेन्द्रलाई भएपछि उनी सभापति देउवा भेट्न पुगेका थिए ।

देउवाले सुजाताप्रति सहानुभूति देखाउँदै भन्नुभयो, ‘उनी त गिरिजाबाबुकी छोरी हुन् नि ! होइन ?’, त्यसैदिन मीनेन्द्रले टिकट नपाउने संकेत पाएका हुन् ।

मीनेन्द्रले आफूले नै टिकट पाउनुपर्ने आवश्यकता र औचित्य प्रष्ट्याउँदै देउवासामु सुजाताको प्रसङ्ग निकालेका थिए । देउवाले सुजाताप्रति सहानुभूति देखाउँदै भन्नुभयो, ‘उनी त गिरिजा बाबुकी छोरी हुन् नि ! होइन ?’, त्यसैदिन मीनेन्द्रले टिकट नपाउने संकेत पाएका हुन् । त्यही भेटमा मीनेन्द्रले आफ्नो राजनीति समाप्त हुने भन्दै चित्त दुखाई गर्दा देउवाले ‘मलाई दोष लाउने किन’ भनी दुईपल्ट प्रष्टीकरण दिएको बताइन्छ । महाधिवेशनमा देउवाको विकल्प शेखर कोइरालालाई प्रस्तुत गरेर प्रखर तथा सक्रिय भूमिका निभाएकोमा आफूलाई टिकट नदिईएको मीनेन्द्रको धारणा आइसकेको छ ।

हिजो राति टेलिभिजन अन्तरवार्तामा राजेन्द्र बानियाँसंग कुरा गर्दै उनले आफूप्रति बालुवाटार नकारात्मक रहेको र राजनीतिक रुपमा कमजोर पार्नसक्ने आकंलन पहिल्यै गरेको बताएका थिए । अन्तर्वार्ताका क्रममा मीनेन्द्रले दिवँगत नेता प्रदीप गिरीले समेत देउवाले इगोको रुपमा लिएको जानकारी आफूलाई गराएको सन्दर्भ निकालेका थिए । महाधिवेशनपछि चार-पाँच जना पार्टीका नेताहरुकै बीचमा देउवाले आफूविरुद्ध लाग्ने मीनेन्द्रको कदमलाई ‘इगो’ को रुपमा लिएकाले राजनीतिक रुपले पछाडि पर्ने संकेत गिरीले गराएका थिए ।

हिमालयन टेलिभिजनको ‘यक्ष प्रश्न’ मा मीनेन्द्रले देउवामाथि खोट पनि देखाए । उनले ‘पार्टीको संस्कृतिलाई पालना नगरेको’, ‘सत्ताको अभिमान, अहंकार देखाएको’ अनि देउवालाई ‘राजनीतिक विवेक गुमाएको’ जस्ता शब्द प्रयोग गर्दै असन्तुष्टि र आक्रोश व्यक्त गरे ।
मीनेन्द्र कुनै समय देउवाका किचेन क्याबिनेटका रुपमा पनि चिनिन्थे । संसद् भित्र र बाहिर पनि प्रख्खर वक्ताका रुपमा र सक्रिय सांसद्का रुपमा उनको बेग्लै परिचय थियो । अन्तर्वार्ताका दौरान अब पार्टीको उम्मेदवारलाई सहयोग गर्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा उनले खुलेर जवाफ दिएनन् । अघिल्लोचोटी आफू उम्मेदवार हुँदा सुजाता एकदिन औपचारिक कार्यक्रममा मात्रै उपस्थिति भएको प्रसङग निकालेर कूटनीतिक जवाफ दिए । यसबाट सुजातालाई मिनेन्द्रको सहयोग नहुने प्रष्टै बुझिन्छ ।

उता, ठाडो बोल्ने र निडर स्वभावका डा.अमरेश सिंह पनि देउवाको कोपभाजनमा परेका छन् । दुईचोटी सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित उनले यसपटक टिकट नै पाएनन् । देउवाका कट्टर आलोचक अमरेशलाई महाधिवेशन प्रतिनिधि हुनबाट पनि बन्चित हुनुपरेको थियो । त्यतिबेला भानु देउवा र प्रकाश देउवाले बालुवाटारबाट फोन गरेर जिल्लाका नेता र प्रशासनलाई भनेर अमरेशलाई उनकै गाउँ बलरामा चुनाव हराइएको थियो । उनी जितेर आएको भए मधेसी कोटाबाट सहमहामन्त्री लड्ने योजनामा थिए ।

अमरेशले पहिलो संविधानसभा चुनावमा तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई चुनाव हराएका थिए । त्यसपछि नै हो, महन्थ सर्लाहीबाट महोत्तरी विस्थापित भएको । चित्त नबुझेको कुरा खुला रुपमा राख्ने स्वभावका अमरेशले देउवाको अंहकारी र क्षेत्रीयतावादी सोचले आफूलाई पछाडि पार्न खोजिएको जनआस्थासंगको कुराकानीमा बताए । देउवाले तत्कालीन प्रजातान्त्रिक कांग्रेका नेता, कार्यकर्तालाई खोजि खोजि अवसर दिने गरेको पनि उनको आरोप छ । अमरेशबाट खोसेर टिकट थमाइएका नागेन्द्र राय पूर्वप्रजातान्त्रिक समुहका हुन् । पाँच पटक सांसद् भइसकेका उनको कुनै पनि कार्यकाल सम्झनलायक भने देखिएको छैन ।

अमरेशले देउवाले पार्टीलाई ‘प्राइभेट लिमिटेड’ बनाएको समेत आरोप लगाए । गत निर्वाचनमा जनकपुर अञ्चलकै ६ वटा जिल्लामा कांग्रेसबाट आफूमात्र जितेको, आफ्नो क्षेत्रबाट दुईवटै प्रदेशसभा जिताएको तर देउवाले डडेल्धुराबाट दुईमध्ये एक सीट गुमाएर एकमात्र जितेको अवस्थासमेत उनले चित्रण गरे । पिएचडी डाक्टरहरु मीनेन्द्र रिजाल, अमरेश सिंह, रामशरण महत, चन्द्रमोहन यादव, गोविन्द पोखरेल, स्वर्णिम वाग्लेलगायतलाई गुटकै कारण संस्थापनले टिकट दिन उचित नठानेको अमरेशको दावी छ । यी सबै शेखर कोइराला पक्षका हुन् ।

यसैबीच डा. अमरेशले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । कांग्रेसको चारतारे झण्डाभन्दा राष्ट्रिय झण्डा लिएर जनतासंग भोट माग्ने उनले बताए ।

टिप्पणीहरू