वाङ्मय शताब्दी पुरुषको देहावसान
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको देहावसान भएको छ । उहाँको १०३ वर्षको उमेर आज बिहान ७ बजेर ९ मीनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
तीन सातादेखि उपचाररत उहाँको किष्ट मेडिकल कलेजमा निधन भएको छ ।
वि. सं. १९७७ बैशाख ३० गते जन्मनुभएका उहाँ मुलुकका प्रख्यात भाषा तथा संस्कृतिविद् हुनुहुन्छ । पिता शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा ललितपुरको बखुम्बहालमा जन्मनुभएका तीन पटक मदन पुरस्कार पाउनुभएको छ ।
उहाँले विभिन्न पुस्तकका साथै २०१६ सालमा पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । उक्त पुस्तक प्रकाशित भएपछि उहाँले दोस्रोपटक मदन पुरस्कार प्राप्त गर्नुभएको हो ।
उहाँलाई काठमाडौँ विश्वविद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । उहाँका हालसम्म प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा संग्रह पाँच तथा नेवारी भाषाका ५० बढी कृति प्रकाशित भइसकेका छन् ।
शताब्दी पुरुष जोशीको सम्मानमा नेपाल राष्ट्र बैंकले उहाँका मुहार अंकित चाँदीको सिक्का निस्काशन गरेको थियो । २५ सय, एक हजार र एक सय दरका सिक्कामा एकातिर जोशीको मुहारको आकृति छ भने अर्कोतिर सगरमाथाको तस्बीर राखिएको छ ।
उहाँले सन् १९६० को दशकमा चीनका राजधानी बेइजिङ पुगेर पहिलो पुस्ताका एक दर्जनबढी चिनियाँलाई नेपाली भाषा अध्यापन गर्नुभएको थियो ।
टिप्पणीहरू