काँग्रेस र माओवादी छाडेर राप्रपाबाट उम्मेदवार बनेकाले के गर्लान् ?

काँग्रेस र माओवादी छाडेर राप्रपाबाट उम्मेदवार बनेकाले के गर्लान् ?

लमजुङका एक जना राजनीतिज्ञले सँधै चुनावी दौडमा पराजय भोग्दै आएका छन् । उनलाई स्थानीयले अभागी राजनीतिक पात्र भन्ने गरेका छन् ।

हेमजङ्ग गुरुङ जसले २०४६ को परिवर्तनपछि कुनै पनि निर्वाचनमा उम्मेदवार नबनेको सायदै होला । इञ्जिनियरसमेत रहेका मर्स्याङ्दी गाउँपालिका घनपोखराका स्थायी बासिन्दा हेमजङ्गले २०४३ देखि लगातार प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले झैँ यसपटक पनि संघीय संसदमा उनले उम्मेदवार हुन चाहेको भए अरुले चिताउने कुरै थिएन । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भने झैं पटक पटक डामिएका हेमजङ्ग यस पटक भने आफू समानुपातिकमा बसेर उमेरले पाका बेसिशहरका बालचन्द्र श्रेष्ठलाई संघमा तेर्साएका छन् ।

प्रदेश सभा निर्वाचनमा उम्मेदवारको निम्ति चुनावको मुखैमा राप्रपा बनेका माओवादी र काँग्रेसीका कारण पनि लमजुङको चुनावलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ । राप्रपामा पुराना थुप्रै व्यक्ति हुँदाहुँदै पनि निर्वाचनको लागि तयार नभएपछि भर्खरै घर फिर्ता भएका ततबहादुर गुरुङ र अप्सरा शाह चुनावी मैदानमा छन् ।

प्रदेश (क) बाट उम्मेदवारी दिएकी अप्सरा २०७४ को स्थानीय निर्वाचनमा राइनास नगरपालिका–७ मा माओवादीबाट निर्वाचित वडा अध्यक्ष माधवप्रसाद पराजुलीकी कान्छी श्रीमती हुन् । माओवादीका चल्दापुर्जा नेताकै श्रीमती राप्रपाबाट उठेपछि गठबन्धनलाई हानी पुग्ने आकलन गरिएको छ । जिल्लामा दुईजना प्रत्यक्ष महिला उम्मेदवार बने पनि बीपी काँग्रेसबाट सोही प्रदेशमा उठेकी अस्मिता गुरुङले भने मनोनयन फिर्ता लिएकी छन् ।

प्रदेश (ख) बाट उम्मेदवार बनाइएका सुन्दरबजार नगरपालिकाका ततबहादुर गुरुङ उक्त क्षेत्रमा काँग्रेसको खम्बा नै मानिन्थे । चुनावको मुखैमा आएर राप्रपा बनी टिकट लिएका गुरुङले चुनावै नजिते पनि गठबन्धनका भेषबहादुर पौडेललाई गतिलो झट्का लाग्ने सहजै अनुमान गरिन्छ ।

स्थानीयले गुरुङले १५ सयदेखि दुई हजार मत काँग्रसको क्षति पुर्याउने जोड घटाउ गर्न थालेका छन् । तर काँग्रेसी नेताहरुले उक्त उम्मेदवारीले आफ्नो संगठनमा कुनै असर नपर्ने बताउँदै हिँडेका छन् ।

– अञ्जन कुमार

टिप्पणीहरू