तिहारको छेको पारेर पोखरामा पुष्प मेला

तिहारको छेको पारेर पोखरामा पुष्प मेला

पोखराका पुष्प व्यवसायीहरुले छैठौं पुष्प मेलाको आयोजना गरेका छन् । स्थानीय उत्पादनलाई प्रवर्द्धन र तिहारलाई लक्षित गरी फ्लोरीकल्चर एशोसिएशन नेपाल कास्कीले कात्तिक ४ गतेदेखि ६ गतेसम्म मेला सञ्चालन गर्न लागेको हो ।

पोखरा रङ्गशालामा आयोजना गरिने मेलामा गोदावरी फूललाई विशेषरुपमा प्रवर्द्धन गरिने एशोसिएशनका सचिव रामप्रसाद सुवेदीले बताए । मेलामा विभिन्न नर्सरीको उत्पादन संकलन गरेर बिक्रीका लागि राखिने उनको भनाइ छ ।

प्रर्दशनीमा २५ वटा स्टल रहनेछन् । जसमा गोदावरी फूलका अतिरिक्त सयपत्री, कटफ्लावर, सुनगाभालगायत अन्य सिजनल फूलहरु बिक्रीका लागि राखिने छ । उक्त मेलाको तयारी लगभग अन्तिममा पुगिसकेको छ । ‘मेलाको आयोजना लगभग सकिसकेको छ’, सचिव सुवेदीले भने, ‘२० वटा स्टल बुकिङ्ग भइसक्यो, बाँकी आजसम्ममा होला ।’

पोखरामा प्रत्येक वर्ष पुष्प मेला हुँदै आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका निम्ति एशोसिएशनले मेलाको आयोजना गर्दै आएको भएपनि कोरोना महामारीका कारण विगत दुई वर्षदेखि मेला सञ्चालनमा आउन सकेको थिएन् ।

लामो समयदेखि ठप्प रहेको मेला सञ्चालनमा आउने भएपछि पुष्प व्यवसायीहरु मख्ख छन् । पुष्प खेतीमा कृषकहरुको बढ्दो आकर्षण भएपनि सरकारले सहयोग नगरेको व्यवसायीहरुको गुनासो छ । ‘पुष्प पनि कृषिभित्रकै एक हो’, उनी भन्छन्,‘अन्नबाली, तरकारी खेती गर्नेलाई अनुदान दिइरहँदा सरकारले पुष्प व्यवसायलाई पुरै बेवास्ता गरेको छ ।’

पोखरामा झण्डै चार दर्जन पुष्प व्यवसायी छन् । तर, उनीहरुले आजसम्म सरकारबाट कुनै किसिमको साथ, सहयोग पाएका छैनन् ।

पोखरामा तिहारको समयमा ठूलो परिमाणमा सयपत्री तथा मखमली फूल तथा माला बिक्री हुने गरेको छ । त्यसमध्ये ७५ देखि ८० प्रतिशत फूल तथा माला स्थानीय उत्पादनले धान्ने आयोजक पक्षले जानकारी दिएका छन् । अपुग फूल बाहिर जिल्लाबाट आयात हुने गरेको छ ।

टिप्पणीहरू