लागूऔषध कारोबारमा युवापुस्ताको संलग्ता बढ्दो, ठाउँ-ठाउँमा पक्राउ
लागूऔषध कारोबारमा युवापुस्ताको संलग्नता पछिल्ला दिनमा उल्लेख्य रुपमा बढेको छ । बेरोजगार, आर्थिक अभाव र साथी संगतले युवापुस्ता लागूऔषध कारोबारमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले देशभर लागूऔषध र्दुव्यसनी रोकथामसम्बन्धी विभिन्न जनचेतामूलक कार्यक्रम गर्दै आएपनि दिनुहँ कारोबारीहरु पक्राउ परिरहेका छन् । यसैबीच हिजो एकैदिन आधा दर्जन बढी युवाहरु लागूऔषधसहित विभिन्न जिल्लाबाट समातिएका छन् ।
काठमाडौं महानगरपालिका-३१ सुकुम्बासीस्थित सडकबाट फेनारगन २६ पिस, डाइजेपाम २६ पिस र नुर्फिन २६ पिस सहित ताप्लेजुङका छिरिङ लामा समातिएका छन् । उनलाई प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले हिजो दिउँसो पक्राउ गरेको हो ।
ईलामको सूर्योदय नगरपालिका-६ कन्यामबाट करिब ७ सय ७० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिक कुमार तामाङ र सेवन गुरुङलाई हिजै दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बर्दिया प्रहरीले बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ५ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ५ ट्याब्लेट र ७ हजार ५ सय रुपैयाँसहित सुर्खेतका १८ वर्षीय किशोरलाई पक्रेको छ ।
यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नुर्फिन ६८ एम्पुल, फेनारगन ६९ एम्पुल र डाईजेपाम ६९ एम्पुलसहित वागलुङ नर बहादुर थापा समातिएका छन् । सुनौलीबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९९५ नम्बरको बसलाई मुग्लिन पुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा उक्त लागूऔषध फेला परेको हो ।
यस्तै नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ बाट केशव घिमिरे समातिएका छन् । उनको साथबाट फेनारगन २६ एम्पुल, नुर्फिन २७ एम्पुल र डाईजेपाम २७ एम्पुल बरामद गरिएको प्रहरीले बताएको छ ।
दाङको लमही नगरपालिका-९ शिवखोलाबाट पनि ड्रमाडोल ७ सय ८८ ट्याब्लेट सहित समिर परियार सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमिलियाबाट खटिएको प्रहरीले बा.०२-०३७ प ३७८८ नम्बरको स्कुटरलाई जाँच गर्नेक्रममा स्कुटरमा सवार उनीहरुको साथमा उक्त लागूऔषध भेटिएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू