ओलीले लोकतन्त्रको कुरा गर्दा मान्छे हाँस्छन् : घनश्याम भुसाल

ओलीले लोकतन्त्रको कुरा गर्दा मान्छे हाँस्छन् : घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेर रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका वामपन्थी नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गर्नुभएको छ ।

ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’ को संज्ञा दिँदै उहाँले लोकतन्त्र र विकासको विषयलाई मजाक बनाएको बताउनुभयो ।

‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मुलुकको गरिब जनताको अनावश्यक खर्चदोहन गर्ने गर्छ,’ भुसालले भन्नुभयो ।

अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको जिकिर गर्नुभयो । रुपन्देही– १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरुलाई उत्पादन र रोजगारीमा जोड्नुपर्नेमा भुसालको जोड छ ।

एमालेबाट टिकट खोसिएपछि पार्टी त्यागेर स्वतन्त्र हुनुभएका उहाँ सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको रुपन्देही–१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रनुभएको छ ।

टिप्पणीहरू