प्रधानसेनापतिको कार्यक्रम : हिजो पोखरा, आज बागलुङ
हिजो बिहान १० जनाको टोलीसहित पोखरा जानुभएका प्रधान सेनापति प्रभुराम शर्मा आज राजधानी फर्कंदै हुनुहुन्छ । दुई दिने निरीक्षण भ्रमणको क्रममा आज उहाँले बाग्लुङ्गस्थित नम्बर २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि आजै काठमाडौं फिर्ता हुने बताइएको छ ।
प्रधान सेनापतिले हिजो पोखरा पुगेलगत्तै पश्चिम पृतना हेड क्वार्टरको निरीक्षण भ्रमण गर्नुभएको थियो । त्यस अवसरमा पृतना हेड क्वार्टर तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरुसँगको समन्वयलगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थाबारे आवश्यक जानकारी लिनुभएको सेनाले जनाएको छ ।
हिजै उहाँले विजयपुर ब्यारेकको निरीक्षण गरेपछि त्यहाँ रहेका सकलदर्जालाई सम्बोधन गर्नुभएको बताइन्छ । दिउँसो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा गत असोज ३० गते भएको दुर्घटनामा दिवंगत नेपाली सेनाका खेलाडी निसिम थापाका परिवारलाई भेट्नुभएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति शर्मा हिजो पोखरा रंगशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा सहभागी हुनुभयो ।



टिप्पणीहरू