मेयर बालेनका सारथी पनि चुनावी मैदानमा

मेयर बालेनका सारथी पनि चुनावी मैदानमा

स्वतन्त्र अभियानले ‘युथ आइकन’ को रुपमा अघि सारेका अनुप बोहरा यतिबेला चुनावी मैदानमा होमिएका छन् । उनी प्रतिनिधि सभाको आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार हुन् ।

गत स्थानीय तहको निर्वाचनमा ‘बालेन अभियान’ का सारथी उनी यसपटक आफैं चुनावी मैदानमा उत्रिएका छन् ।

उम्मेदवार बोहरा हिजोआज अरुझैँ चुनावी प्रचार प्रसारमा व्यस्त छन् । दिनदिनै मतदाता भेट्ने, आफ्ना एजेन्डा सुनाउने र जन्मथलोका मतदातासँग मत मागिरहेको अवस्थमा भेटिन्छन् ।

त्यसो त युवा अभियन्ता भन्छन्– बोहरा ‘टुरिस्ट उम्मेदवार’ होइनन् । काठमाडौंमै जन्मे, काठमाडौंमै हुर्के, काठमाडौंलाई नै कर्मथलो बनाएका उनी काठमाडौं–२ का मतदाता रिझाउने एउटा अभियानमा छन् ।

‘खुकुरी क्रस’ चुनाव चिन्ह लिएर टोल–टोलमा पुग्दा मतदाताबाट सकारात्मक सुझाव पाइरहेको बताउँछन् । बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका उनी व्यवसायीसमेत हुन् ।

स्थानीय युवा तथा अग्रजहरूको सल्लाहमा काठमाडौं–२ बाट उम्मेदवारी दिएका उम्मेदवार बोहरा सँधै जनतासँगै रहेको दाबी गर्छन् । मतदाताको चासो गुनासो सुन्ने र दिगो विकास तथा ‘काठमाण्डू सपना’ बारे चर्चा गर्ने गरेको उनको भनाइ छ ।

‘म काठमाडौंकै बासिन्दा हुँ । राजनीति मेरो कर्म हो । मेरो आफ्नै पेशा छ । राजनीतिलाई पेशा ठान्दिनँ । दलगत स्वार्थभन्दा माथि उठेको छु,’ बोहराले भने, ‘काठमाडौं–२ बाट चुनाव जितेर गएका कैयौँ नेता हराए । यसपटक पनि चुनाव लड्नकै लागि कतिपय नेताहरू मेरो निर्वाचन क्षेत्रमा आएका छन् । उनीहरुसँग विकासका कुनै एजेण्डा छैनन् ।’

एकातिर सत्ता गठबन्धन, अर्कोतिर एमाले गठबन्धन कायम छ । तर यी दुबै गबन्धनभन्दा भिन्नै चुनावी अभियानमा छन्, उनी । ‘केटीएम–महानगर’ का मेयर बालेन साहलाई जिताउन गत बैशाखमा खटिएका उनी नयाँ प्रचारशैलीमा देखिन्छन् ।

स्वतन्त्र चुनावी अभियानमा देखिएका युवाहरू भन्छन्– यो शैली बालेनशैली हो । युवा जमात एक ठाउँमा उभिएको छ । दलहरू भ्रष्ट भए, उम्मेदवारहरू ‘टुरिस्ट’ । हामीहरूले हिजो बालेनलाई जितायौँ, अब अनुप बोहरालाई जिताउँछौँ ।

स्रोतका अनुसार बालेनको चुनावी अभियानमा यीनै युवा थिए, जो अहिले अनुपसँगै छन् । तर उनीहरुको दाबीको परीक्षण आजको ठ्याक्कै एक महिनापछि हुनेछ ।

टिप्पणीहरू