एमाले अध्यक्षमाथि सामाजिक सञ्जालमा ‘कपि पेष्ट’ को आरोप

एमाले अध्यक्षमाथि सामाजिक सञ्जालमा ‘कपि पेष्ट’ को आरोप

वाकपटुता र तिखा वचनले विपक्षीमाथि हावी हुनसक्ने विशेष खुबी छ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग । उखान टुक्का मिसाएर मौलिक शैलीमा गर्ने उहाँका भाषणहरु चर्चामा आइरहन्छन् । बोल्ने कलाकै कारण चर्चाको केन्द्रमा रही रहने ओली चुनाव नजिकिएसँगै सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ।

एमालेमा ‘बा’ भनेर चिनिने उहाँको ‘केपी शर्मा ओली’ नामको फेसबुक पेजमा केही दिनयता लगातार स्टाटस पोष्ट भइरहेको छ । दुई दिनअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँबाटै ‘डिबेट’ मा आउन निम्ता दिनुभएको थियो । सोही दिन आफ्नो फोटोसहितको स्टाटस लेखेर कात्तिक ४ गते आफू प्रत्यक्ष सम्पर्कमा रहने भन्दै उहाँले आम सर्वसाधारणलाई सूचित गर्नुभएको थियो ।

हिजो आफूसँग कुरा गर्न एक लाख ७१ हजार जनाले नाम र नम्बर टिपाएको खबर पनि ओलीले त्यहाँबाटै सार्वजनिक गर्नुभयो । ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद । धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ?’, उहाँले लेख्नुभएको थियो ।

आज बिहानै उहाँले एउटा फोटोसहित ’सुर्यको पहिलो किरण ः गुड मर्निङ नेपाल फ्रम बालकोट’ लेखेर गरेको पोष्ट भने आलोचनामा परेको छ । ‘रुटिङ अफ नेपाल बन्द’ नामको फेसबुक पेजमा पहिले नै अपलोड भइसकेको फोटो र क्याप्सनसमेत जस्ताको त्यस्तै प्रयोग गरेपछि उहाँको आलोचना भएको हो । उक्त पेजमा ‘घामको पहिलो किरणः गुड मर्निङ्ग नेपाल फ्रम लोअर पिसाङ्ग, मनाङ’ लेखिएको छ । दुबै पोष्टमा फोटो क्रेडिट भने विशाल हुमागाईंलाई दिइएको छ ।

अहिले दिउँसोसम्ममा झन्डै ११ सय फेसबुक प्रयोगकर्ताले ओलीको पोष्टमा प्रतिक्रिया दिएका छन्, तीमध्ये अधिकांश क्याप्सन कपी गरेकोप्रति लक्षित छ । दुवै फोटो राखेर कमेन्टमा एक जनाले लेखेका छन्, ‘जे मा पनि फट्याइँ … कस्तो लाज पचेको कथित “बा’’…..’ अर्का कमेण्टकर्ताले पनि दुई फोटोबीच समानता देखाउँदै जे पनि बोल्दिने ? भनि आलोचना गरेका छन् । ‘नेताले जे नि बोल्दिने । हुन त बालकोटबाट स्वीट्जरल्याण्ड पनि देखिँदो हो’, ती कमेन्टकर्ताको कटाक्ष छ ।

अर्का एक जनाले ठट्यौली पारामा ‘लास्टै हावादारी बा’ लेखेका छन् । ‘कस्को पत्याउने अब हाम्ले । हुँदाहुँदा अब फोटोमा पनि झुटो बोल्न थाल्यौ हैन’, अर्को कमेण्ट छ ।

कतिपय कमेण्टकर्ताले भने ओलीको बचाउ पनि गरेका छन् । फोटो क्रेडिट दिएकाले अनावश्यकरुपमा आलोचना गर्नुको अर्थ नहुने उनीहरुको टिप्पणी छ ।

टिप्पणीहरू