अन्तिममा केही नेताको राष्ट्रपतिबाट उद्धार
सम्माननीय राष्ट्रपतिको अडानका कारण राष्ट्रिय राजनीतिमा किसिम–किसिमका चर्चा र विवाद भइरहँदा यसचोटिको चुनावमा टिकट दिलाउने चरणसम्मै उहाँको सक्रियता चाखलाग्दो थियो ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र उहाँका दाजु तथा बागमती प्रदेशमा एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डेहरु आमाको वियोगपछि काठमाडौंस्थित सीतापाइलामा किरिया बस्नुभएको थियो । २३ गते उम्मेदवारी दर्ता गर्ने दिन १३ औँ पुण्यतिथि । यसकारण वारेशबाटै उम्मेदवारी दर्ता गर्नुपर्ने भयो । तर, शोकमा बसेका बेला भाइ सुरेन्द्र भने अलग्गै तनावमा हुनुहुन्थ्यो । २२ गते दिउँसो समाजवादी पत्रकारका कावा अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष नवराज छत्कुली, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित करिब १५ पत्रकारको टोली समवेदना प्रकट गर्न सीतापाइला पुगेको थियो । उनीहरुले धादिङ–१ का प्रत्यासी राजेन्द्र पाण्डेलाई सोधे, ‘टिकट त पाइसक्नुभयो, नोमिनेशनचाहिँ कसरी गर्नुहुन्छ नि ?’ उहाँले हाँसेरै भन्नुभयो, ‘वारेशनामाबाट भइहाल्छ नि !’ अनि, पत्रकारहरुले सुरेन्द्रलाई यही कुरा सोधे । उहाँ अक्मकाउनुभयो । अड्किँदै–अड्किँदै भन्नुभयो, ‘अँ–अँ, वारेशबाटै त होला नि !’ उहाँ अलिक निराश हुनुहुन्थ्यो । फोनमा कुरा गर्न भित्र–बाहिर गर्दै हुनुहुन्थ्यो । कुरा बुझिन्थ्यो, उहाँलाई टिकटले ठूलै तनावै दिएको छ । किनभने, पार्टीले घोषणा गरेका उम्मेदवारमा उहाँको नाम आएको थिएन ।
समाजवादीका पत्रकारहरु त्यहाँबाट निस्किएपछि शुभेच्छा अस्पतालनजिकै एउटा क्याफेको एक तलामाथि बसेर गफिँदै थिए । अलिक साँझ–साँझ परेपछि एउटा गाडी त्यहीँ अगाडि आएर अल्मलियो । सुरेन्द्रका स्वकीय सचिव सञ्जिव पाण्डे मोबाइलमा लोकेशन भनिरहेका थिए । एकैछिनमा सञ्जिवले भनेको ठाउँमा गाडी रोकियो र त्यसबाट ओर्लिए सम्माननीय राष्ट्रपतिका प्रमुख निजी सचिव भेषराज अधिकारी ।
पत्रकारहरु हिँडेपछि सुरेन्द्रले अलिक जमेरै विभिन्न व्यक्तिसँग फोनमा कुरा गर्नुभएछ । विशेषतः ताप्लेजुङबाट योगेश भट्टराईको सट्टा तिलकुमार मेन्याङ्बो र चितवन–१ मा सुरेन्द्रको सट्टा जेएन थपलियालाई उम्मेदवारी दिने भनिँदै थियो । योगेश परे राष्ट्रपतिनिकट । सुरेन्द्र पनि योगेशहरुकै सर्कलबाट त्यतातिर नजिकिएका । योगेश र सुरेन्द्रले पालैपालो राष्ट्रपतिलाई फोन गरेपछि साँझ पिए भेषराज सीतापाइला पुगे । योगेशको हकमा फोनमै कुरा भएर दिउँसै टिकटको टुंगो लाग्यो । तर, १० बुँदे भएबापत सुरेन्द्रको हकमा आइन्दा अध्यक्षको आलोचना नगर्ने प्रतिवद्धता नै जनाउनुपर्ने भन्ने बालकोटको अड्डी आएपछि त्यसका निम्ति भेषराज त्यहाँ पुगेको बताइन्छ । भेषराज पुग्नासाथ कोरामा बसेको भन्दा पछाडिपट्टिको कोठामा सुरेन्द्र र उनी एक्लै केही समय गफिए । बाहिर निस्किँदा भेषराज भन्दै थिए, ‘…सुरेन्द्र कमरेड पनि त्यत्तिकै पीर मान्नुहुन्छ, अब तपाईंलाई समस्या हुँदैन…, ढुक्क हुनुस् !’ यसरी पार्टीका वर्तमान उपाध्यक्षलाई पूर्वउपाध्यक्ष (सम्माननीय राष्ट्रपति) ले अन्तिममा उद्धार गर्नुप¥यो ।
काठमाडौंको कुरा
गुटका आधारमा मान्छेलाई सुँघेर, ‘गन्हाउँछ’ कि ‘बासना आउँछ’ भन्ने ठहर गरेपछि मात्रै टिकट दिने नीतिका कारण एमालेले उपत्यकामा क्षति व्यहोर्ने स्थिति देखिन्छ ।
काठमाडौंको क्षेत्र नं. १ मा गणेश दुलाल, विदुर मैनालीहरुको नाम आउँदा बीचमा झुल्किए किरण पौडेल । युवा संघमा तदर्थ कमिटी बनाएर केही समय अध्यक्ष बनाइएका उनले त्यो क्षेत्रमा युवा परिचालन गरेरमात्रै चुनाव जित्न सकिने एउटा रिपोर्ट अध्यक्ष ओलीलाई बुझाएका थिए । भनिन्छ, त्यही कुरा पत्याएर उनैलाई उठाइयो ।
क्षेत्र नंं २ बाट उठाइएका मणिराम फुयाँलले डा.बिन्दा पाण्डे उम्मेदवार हुने भए आफू फेरि प्रदेशमा जान तयार भएको बताएका थिए । तर, पढे–लेखेकी, आलोचनात्मक अभिव्यक्ति दिने कारण उनी बालकोटदेखि शीतलनिवासम्मका लागि रुचिकर भइनन् । मणिराममाथि क्रिकेट मैदानको खरिदमा आर्थिक अनियमितताको आरोप छ । अहिले चुनावमा तिनै कुरा अगाडि सारेर उनको आलोचना शुरु भएको छ ।
३ नं. क्षेत्रबाट दोस्रोपटक कृष्ण राई प्रतिस्पर्धामा छन् । अघिल्लोपटक रामेश्वर फुयाँललाई अर्कोचोटि माथि उठ्ने, अहिलेलाई प्रदेश जानुस् भनिएको थियो । तर, अहिले पनि उनले टिकट पाएनन् । पाएका कृष्ण २०६६ सालमा विद्या भण्डारी रक्षा मन्त्री हुँदा पिए थिए ।
माधव नेपालदेखि केपी ओलीसम्मको विदेश मामिला सल्लाहकार हुन भ्याएका राजन भट्टराई फेरि पनि काठमाडौं ४ बाट उठेका छन् । बूढानीलकण्ठका पूर्वमेयर उद्धव खरेल, उपमेयर रमा राईदेखि अनेकौं आकांक्षीसँग सामान्य सोधखोज नै नगरी उनलाई उम्मेदवार बनाइएको छ ।
क्षेत्र नं. ४ मा ईश्वर पोखरेल उम्मेदवार हुँदा प्रदेशसभाको सन्तुलन मिलाइएन । त्यहाँ पुरानै सांसदहरु फेरि पनि मैदानमा छन् । त्यसविरुद्ध काठमाडौं महानगर– ४ का पूर्ववडाध्यक्ष मोहनबहादुर विष्टले बागी उम्मेदवारी दिएका छन् । यस्तो भएपछि अब ईश्वरका लागि हाँडिगाउँ, विशालनगर र धुम्बाराही जटिल बन्न पुगेको छ ।
पार्टीमा वर्षौं काम गरेका र चुनावको मुखमा ‘टिकट दिउँला’ भनी एकीकृत समाजवादी छोड्न लगाइएका मान्छेहरुको चित्त दुखाउँदै ६ नम्बरमा प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल उम्मेदवार बनाइएका छन् । ७ मा पनि इन्दिरा पन्तले टिकट पाइनन्, श्याम घिमिरेले पाए । ८ मा शिवसुन्दर वैद्यले टिकट पाएपछि एमालेहरु चकित छन् ।
०७४ को चुनावमा वडा सदस्य जितेका र यसचोटि वडाध्यक्षको दावी गर्दा जित्दैनन् भनी टिकट नदिइएका उनले एकैचोटि संघीय संसदको अवसर पाउँदा एमालेहरु छक्क परेका हुन् । त्यहाँबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले सत्ता गठबन्धनको टिकट पाएका छन् । अहिले एमालेहरु ‘जीवनराम नै हाम्रो नेता हो’ भनेर स्वयम्भू–डल्लुतिर भेला हुन थालेको सुनिन्छ । स्मरणीय छ, स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले महानगरको वडाध्यक्षसहित प्यानलै जितेको क्षेत्र त्यही हो ।
काठमाडौंको ९ मा फेरि पनि कृष्णगोपाल श्रेष्ठले टिकट पाए । कीर्तिपुरकै मान्छेहरुले नचिन्ने हिमेश केसीलाई १० नं. क्षेत्रको टिकट दिइँदा एमाले अर्को संकटमा परेको छ । तिकडमको राजनीति पनि कतिसम्म चल्यो भने पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई काठमाडौं १० मा उठ्न भनियो । त्यसो भनिरहँदा किरण पौडेलले आफ्ना लागि काठमाडौं १ को र हिमेशका लागि १० को टिकट लगिसकेका थिए । अष्टलक्ष्मीलाई काठमाडौं ८ मा जीवनरामसँग भिडाउन खोजिएको थियो । तर, उनले मानिनन् । बादल रिसाएपछि उनकी पत्नी नैनकलालाई समानुपातिकको सूचीमा राखियो । त्यसमा पनि पार्टीका मान्छेहरुले नचिन्ने महिलाकै संख्या बढी छ ।
टिप्पणीहरू