प्रभू अन्तिममा अन्तै पल्टिएपछि…

प्रभू अन्तिममा अन्तै पल्टिएपछि…

थुप्रैले केपी ओलीका झुक्यान र झुठा बचन व्यहोरे । अहिले आएर उनैलाई ‘थाङ्नामा सुताउने’ प्रभु साह निक्लिएपछि एमाले ‘के गरौँ– कसो गरौँ’ को स्थितिमा पुगेको छ ।

शुरुमा प्रभु साहका कार्यकर्ता राखेर बनाइएको रौतहट जिल्ला कमिटी नै भंग गरियो । अहिले समानुपातिकमा परेका उनका मान्छेको नाम उम्मेदवारीबाट हटाउन निर्वाचन आयोगलाई लेखेर पठाइएको छ । रौतहटका एमालेहरु पार्टी विभाजन हुँदा धेरैजसो माधव नेपालको साथमा गए । त्यसपछि माओवादीबाट एमाले भएका प्रभु साहहरुबाट पार्टी चलाइएको थियो ।

तर, समानुपातिकबाट प्रभुपक्षीय उम्मेदवार हटाउने एमालेको पत्र भने काम नलाग्ने भएको छ । किनभने चुनावी मैदानमै कुनै उम्मेदवारले जुन दलबाट उम्मेदवारी दिएको हो, त्यो दल त्यागेको वा अर्को दल प्रवेश गरेको अवस्थामा मात्र उम्मेदवारी स्वतः रद्ध हुने व्यवस्था छ । तर, उम्मेदवारले नछोडेको अवस्थामा पार्टीले लेखेर दिँदैमा उम्मेदवारी रद्ध हुँदैन ।

निर्वाचित भएपछि पार्टीले कारवाही गरेमा भने उसको पद रिक्त हुने व्यवस्था छ । समानुपातिकको हकमा पछि कोही व्यक्तिलाई पार्टीले सांसद बनाउन चाहेन भने मत परिणाम आइसकेपछि ती–ती व्यक्तिलाई कारवाही गरिएको जानकारी निर्वाचन आयोगलाई दिएमा उनीहरु समानुपातिक सांसद छनौट हुनबाट रोकिन्छन् ।

त्यसो त निर्वाचन आयोगमा अहिले पनि विभिन्न राजनीतिक दलका २९–३० जना उम्मेदवारविरुद्ध दावी–विरोध गएको छ । सोअनुसार कोही उम्मेदवारको योग्यता पुगेन भने उम्मेदवारी रद्ध हुन्छ । तर, पार्टीले अहिल्यै उम्मेदवारलाई हटाउँछु भनेर हटाउन मिल्दैन । दावीसहित उजुर हाल्ने तीन चरण हुन्छन् । एक हो, एउटा उम्मेदवारले अर्को उम्मेदवारविरुद्ध । दोस्रो हो, उम्मेदवारविरुद्ध कोही मान्छेले आयोगमा हाल्न मिल्ने । तेस्रोमा निर्वाचित भइसकेपछि योग्यतामा प्रश्न उठाएर अदालतमा मुद्दा हाल्ने ।

टिप्पणीहरू