अरुको के गणना गर्नु, हाम्रो मुख्य प्रतिस्पर्धी एमाले नै हो : राप्रपा अध्यक्ष

अरुको के गणना गर्नु, हाम्रो मुख्य प्रतिस्पर्धी एमाले नै हो : राप्रपा अध्यक्ष

एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो जीत सुरक्षित गर्न झापासहित देशका केही निर्वाचन क्षेत्रमा एमालेसँग तालमेल गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एमालेलाई नै आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी बताएका छन् । आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले एमाले र राप्रपा प्रतिस्पर्धी पार्टी भएको बताएका हुन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलले १ सयभन्दा कम्ती उम्मेदवार उठाएकाले राप्रपाको प्रतिस्पर्धी हुनै नसक्ने दाबी गरेका छन् । आफ्नो पार्टीले एक सय ४० सीटमा उम्मेदवारी दिएको र त्यहि हाराहारीमा उम्मेदवार उठाउने पार्टी एमालेमात्रै भएको लिङदेनले बताए ।

‘यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा एमालेसँग हुन्छ । अरु पार्टीको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । कांग्रेस, माओवादी भन्ने पार्टी त सयभन्दा तल छन् । कोही त ५० भन्दा तल छन्’, उनले भने ।

काँग्रेस, माओवादीलगायत दलका मतदाताले अहिले राप्रपाको सक्रियता खोजिरहेको दाबी गर्दै लिङदेनले काँग्रेस र कम्युनिष्टको झण्डा धुरीमा राखेर उनीहरुले राप्रपालाई भोट दिने बताए । उनले भने, ‘जो नेतृत्व पटक पटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ । यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन ।’

आगामी निर्वाचनबाट राप्रपा ठूलो पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने पनि लिङदेनको दाबी छ । राप्रपामा एमालेसँगको तालमेललाई लिएर चर्को असन्तुष्टि सार्वजनिक भइरहेका बेला उनले हीनताबोध नलिन पनि कार्यकर्तालाई आग्रह गरेका छन् ।

टिप्पणीहरू