खेतीपातीलाई मनसुन, जिन्दगीलाई भनसुन
– दीपक खनाल
हिजोआज मनसुनले पनि किसान र खेतीपातीमाथि राजनीति गर्न थालेको छ । बर्खायाममा आउनुपर्ने मनसुन कुबेलामा आइदिन्छ । चाहिने समयमा नआएपछि बालीनाली राम्ररी सप्रिन पाउँदैन । हिन्द महासागर वा बंगालको खाडीबाट आएको पच्चिमी वायुका कारण दशैं नवमीको दिनदेखि परेको पानीले देशभरि क्षति पु¥यायो । चीनजस्ता विकसित र अत्याधुनिक देशले त मनसुन नै पर्खन पर्दैन । चाहेको बेला पानी पार्न र अनावश्यक वर्षालाई रोकिदिन सक्छ भनिन्छ चिनियाँ प्रविधिले । तर देशको राजनीतिक मौसम बिगे्रपछि प्राकृतिक मौसममा पनि राजनीतिको जस्तै भद्रगोल, अनियमितता हुँदोरहेछ ।
मनसुनबिना खेतीबाली फस्टाउन नसकेजस्तै जिन्दगी चलाउनलाई भनसुन नभई नहुने अवस्था आइसक्यो अब त । किनकि सोझासिधा मान्छेले खेतीपाती (किसानी) गरेरै आफ्नो जीवन चलाउने हो, घरपरिवार व्यवस्थापन गर्ने हो । त्यही नभएपछि कसरी व्यवस्थापन गर्ने ? अहिले जागिर पनि त्यस्तै भइसक्यो । पहिले पहिले पो सामन्तीतन्त्रमा भनसुन (खुसामद) गर्ने बित्तिकै जागीर पाइन्थ्यो । धेरैले भनसुन गरेर, तत्कालीन शासक, प्रशासक (हाकिम), पदासिनलाई अनेक प्रकारका नजराना बुझाएर जागिर खाए । जागिर खानेको आर्थिक अवस्था अरुको तुलनामा सुदृढ हुन्थ्यो । तिनको घरमा मीठो मसिनो, माछा, मासु पाक्न थाल्यो । जस्तापाता र ढुंगाको छानो हाल्न सके । तिनैले छोराछोरी राम्रो ठाउँमा पढाउन पाए । समाजका गरिब (अभागी ?) हरूले तिनैकोमा निहुरिनुप¥यो ऐँचोपैँचो, ऋण, सापटी माग्न । त्यसैले कमाउनेहरूको शान, मान, इज्जत बढ्यो । तिनै समाजका ठूला, गन्यमान्य कहलाए ।
अपवादबाहेक तिनकै सन्तान पढेलेखेकामा दर्ज भए । पढेलेखेका कारण अवसर तिनकै लागि भयो । जीवनशैली तिनीहरूकै स्मार्ट बन्यो । तर भनसुन गर्न नसक्ने, नजान्ने, शासकको नजिक नभएकाहरूले कहिल्यै जागीर खान पाएनन् । तिनीहरूको झुपडीमा कहिल्यै आएन पूर्णिमाको जून, जिन्दगीभरि सधैँ औँसीको रात छायो । समान वितरण प्रणाली नभएपछि तिनीहरू र तिनका सन्तान अभागी, असक्षममा गणना भए । दुई वर्ग स्थापित भयो । समाजमा फरक फरक वर्ग जन्मनुको एउटा कारण यो पनि रहेछ ।
चाडपर्वमा घर जाँदा, आउदा सवारी टिकटमा समेत भनसुन लगाउन पर्ने हाम्राे जस्ताे देशमा जनताकाे शासन सुशासन आयाे भनेर कसरी भन्ने ?
सबै कालमा सत्ताका नजिक हुनेकै दिन उजेलो हुनेरहेछ । हिजोका सत्ताधारी र तिनको नजिकका मान्छे अनि आसेपासेलाई पञ्चे, मण्डले भनेर घृणा गर्नु बेकार रहेछ । जुनसुकै व्यवस्था र शासकका पालामा पनि सत्ताको वरिपरि रहेका, शासकका निकट, आफन्त, नातेदारले नै रहेछ अवसर पाउने, फाइदा लिने, अरुलाई कज्याउने । तिनकै आर्थिक अवस्था रहेछ राम्रो हुने । राणाशासनभन्दा अघिको समय होस् कि राणाकाल, पञ्चायतकाल होस् कि संवैधानिक बहुदलीय व्यवस्थाको समय, जुनसुकै शासनकालमा भनसुन, चाकडी गर्नेकै भलो, जय हुँदै आएको देखिन्छ । विद्रोही, आलोचक, स्वाभिमानी र इमान्दारहरूलाई अवसर, अधिकारबाट वञ्चित मात्रै होइन, पाखा नै लगाइने रहेछ । हातमा सत्ताको बागडोर समातेर चाकडी, चुप्लुसी, चुक्लीकै भरमा स्वाभिमानी र इमान्दार जनतामाथि शासन लाद्नु जुनसुकै शासक, प्रशासकहरूको चरित्र एवं गुण नै रहेछ ।
अहिलेसम्मको सबैभन्दा प्रगतिशील भनिएको वर्तमान राजनीतिक व्यवस्थामा पनि विभिन्न अवसरमा यस्तै विभेद छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा सुशासन, समान अवसरका कुरा त लेखिएको छ, हो विगतको तुलनामा अहिले बाहिर केही प्रतिस्पर्धा गर्ने वातावरण भएको देखिन्छ । तर सामाजिक न्याय र वितरण प्रणालीमा पहुँचवाद, पार्टीवाद, आफन्तवाद, नातावाद, क्रिपावाद नै हावी छ भन्दा अत्युक्ति हुँदैन । मिलेर खान वाद, सिद्धान्त चाहिँदैन । यसरी मिल्नुलाई उल्टै राजनीतिक संस्कारको नाम दिइन्छ । बलिदान, त्याग, तपस्या, साधनाको कुनै मूल्य छैन । असन्तुलित मिडियाले प्रचार गरेर समाजमा जबर्जस्त स्थापित गरिदिएका मानिस र बिना अर्थ खोलिएका संगठन, दलका नेता, कार्यकर्ता नै शक्तिको आडमा ठूला कहलिन्छन् यहाँ ।
सत्ता र नेताको नजिक भएपछि शक्ति र सत्तामा भएकाले आफ्नालाई पार्टीमै स्थापित गराउन खोज्छन् । यो सम्भव नभए जागिर लगाउँछन्, जागिर लगाउन नमिल्ने वा नसक्ने भए ऋण हालिदिएर वा मागिदिएर व्यापार, व्यवसायमा स्थापित गराउँछन् । त्यो पनि नभए चाँजोपाँजो मिलाएर विदेश पठाइदिन्छन् । राजावादी, गणतन्त्रवादी, कांग्रेस, कम्युनिष्ट जो जो भए पनि पहुँचवालाकै हालीमुहाली चल्दोरहेछ शक्तिमा भएपछि । अवसरमै यस्तो छ भने काम गर्नसमेत चाकडी, चुप्लुसी, चुक्ली नभई हुँदैन । धेरैजसो अवस्थामा अझै पनि नजराना दिनुपर्ने, घुस खुवाउनुपर्ने बिडम्बना छ । मालदार ठाउँमा हाकाहाकी लेनदेन हुन्छ । यो कुरा राज्य हाँक्ने, चलाउने सबैलाई थाहा छ तैपनि सबै तैँ चुप मै चुप छन्, हुन्छन् ।
टाउकै खराब ?
भनिन्छ नि टाउको (शिर) ठीक भए शरीरका सबै अंगप्रत्यंगहरू ठीक हुन्छन् । टाउको दुखेपछि अरु अंगप्रत्यंग पनि शिथिल, कमजोर हुन्छन् । अर्थात् टाउको(दिमाग)ले गलत सन्देश दिएपछि अरु अंगले नै गलत कार्य गर्न सक्छन् । मानौँ, राजनीति, राजनीतिक पार्टी शीर्ष (टाउका) हुन् । समाज बदल्न सक्ने तागत राजनीतिक पार्टीमा नै हुन्छ । राजनीतिक दल ठीक भइदिए सबै क्षेत्र ठीक हुन्छ । तर लोकतन्त्रवादी र गणतन्त्रवादी भनिएका पार्टीमा समेत यस्ता आशाका किरणहरू मर्दै गएका छन् । के के गरे चतु¥याईँ हुन्छ र पार्टीमा भरसक कस्ता कस्ता व्यक्ति राखिन्छ भन्ने कुरा व्यंग्य निबन्धकार भैरव अर्यालको लेखनमा पाइएको यो व्यंग्यबाटै स्पष्ट हुन्छ :
चोरी, चकारी नगरी चतु¥याइँ हुन्न
दंगा, फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कबै नलिनु दलैमा
पार्टी चलाउनू सधैँ छल औ बलैमा
मंसिरको ४ गते फेरि सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्रमा पनि पार्टीहरूले सुशासनको लेप लगाएका छन् । नेताहरूका भाषणमा आदर्श वाक्य सुशासन, समान अवसर, प्रतिस्पर्धा भनेरै आउने गर्छ र आइरहेको छ । तर आजसम्मको कथनी र करणी हेर्दा आम जनताले यसको अनुभव गर्न पाएका छैनन् । यस्तै आम जनतालाई सुशासनको प्रत्याभूति गर्न भनेर सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४(संशोधन, ०७५) ल्याइएको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा नै दिगो शान्ति र सुशासन कायम गर्ने स्पष्ट उल्लेख छ । सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितका निमित्त समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न भष्टाचार निवारण ऐन, २०५९ (सशोधन, २०६६) ल्याइएको छ । सोसम्बन्धी छानबिन गर्ने निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ । राष्टिय सतर्कता केन्द्र, अनुसन्धान विभागजस्ता कार्यालय छन् ।
तर व्यवहारमा आम जनताले सुशासन र समनताको प्रत्याभूति गर्न पाएको छैन । शक्तिको संरक्षणमा विभिन्न भ्रष्टाचार हुन छाडेको छैन । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने अवस्था ज्यूँका त्युँ छ । कि भनसुन कि शक्ति प्रयोग गर्र्नैपर्ने, कडा स्वरमा कराउनैपर्ने अवस्था छ । यस्ता समस्या समाधान गरी दिगो सुशासन, समनता, प्रतिस्पर्धा कायम गर्न देशभरका सबै कामकाजलाई डिजिटल सिष्टममा लैजानुपर्ने हो, हरेक कार्यलाई आधुनिक प्रविधियुक्त प्रणालीमा आवद्ध गर्नुपर्ने हो तर प्रणालीमा जान कोही खोज्दैन । हातमा अधिकार हुनेहरू नै शासन प्रणालीलाई व्यवस्थित रूपमा चलाएर मुलुकमा सुशासन ल्याउन चाहँदैनन् । सरकारी मात्र हैन, गैर सरकारी कुनै पनि क्षेत्रको मानिस सकेसम्म नियममा चल्न खोज्दैनन्, मिचेर काम गर्न चाहन्छन् किनकि सिष्टममा चलेपछि नाजायज फाइदा लुट्न, कमिसन खान पाइँदैँन । नाफा, मुनाफा प्राप्त हुँदैन ।
बाहिर एउटा नारा भट्याए पनि अधिकांश राजनीतिक नेतृत्व र सरकारको नेतृत्व पार्टी र सरकारमा यस्तै बेथिति, बिसंगति ल्याएर शक्तिको अभ्यास गर्न चाहन्छ । सरकारी कर्मचारी त्यो भन्दा सही हुनुपर्ने हो तर राजनीतिक नेतृत्व नै गलत भएपछि नियत वा बाध्यताले त्यसैको पछि दौडने गर्दछन् । व्यवस्थामा चल्न चाहनेहरू नसकेपछि निराश बनेर निस्कृय बस्दछन् । सरूवा, बढुवामा दक्षिणा नटक्रयाई काम बन्दैन । हेर्दा हेर्दा अब त राम्रो गर्न खोज्ने इमान्दार पाखा लाग्ने र बेइमानी, फटाहा, छुल्याइँ, फट्याइँ गर्नेकै बोली बिक्ने दिन आयो । मालपोतमा सानो काम सम्पन्न गर्न भनसुन नै चाहिन्छ । जग्गा पासदेखि नामसारी, नक्साको प्रतिलिपि निकाल्नदेखि अदालतमा समेत एकपाना कागजात लिन पर्दा चियाचमेना खुवाउनुपर्ने बाध्यता छ ।
अरु त जटिल कार्य नै भए रे, उपचार गर्न, आफू पढ्न, बच्चाबच्ची पढाउनसमेत सोर्सफोर्स चाहिने भयो । जुनसुकै क्षेत्रमा भनसुन, चाकडी, कमिसन, यी त सबै ओपन सेक्रेट हुन् । अरु त अरु विदेशमा श्रम बेच्न जाँदा र चाडपर्वमा घर जाँदा आउँदा सवारी टिकटमा समेत भनसुन लगाउन पर्ने हाम्रो जस्तो देशमा जनताको शासन, सुशासन आयो भनेर कसरी भन्ने ? तिनका भाषण कसरी पचाउने ? ठूलाबडालाई त सधैँ चैन नै चैन हो, सानालाई न हो ऐन, नियम, कानुन लाग्ने ? यतिसम्म कि अब त गाउँ, शहरका गरिब, अति सामान्य सर्वसाधारणलाई बाँच्न नै भनसुन गर्नुपर्ने अवस्था आइसकेको छ । त्यसैले पहिलेको खेतीपातीलाई मनसुन, जागिरलाई भनसुन भन्ने उखानलाई अब यसरी भन्दा हुने भएको छ, खेतीपातीलाई मनसुन, जिन्दगीलाई भनसुन ।
टिप्पणीहरू