आफ्नै सहकर्मीलाई फूल चढाउँदा किन अनुपस्थित ?

आफ्नै सहकर्मीलाई फूल चढाउँदा किन अनुपस्थित ?

चुनावको मुखमा प्रहरीका कतिपय हाकिमहरु पदावधि र उमेर हद लागेर घर जाने र कतिपयले नयाँ जिम्मेवारी पाउने मौसम शुरु हुँदैछ ।

एआइजी अरुणकुमार बिसी ५६ वर्षे उमेरहदका कारण असोज २४ गते घर गएपछि एक पद रिक्त छ । अब कात्तिक २५ गते भ्याली एआइजी रविन्द्रबहादुर धानुक भूपू हुँदैछन् । त्यसपछि पालो आउँछ पूजा सिंहको । उनको उमेर फागुन ५ मा ५६ लाग्छ । यसअघि विश्वराज पोखरेल र मुकुन्द आचार्यको रिक्त रहेको एआइजी पदमा पनि पदपूर्ति भएको छैन । त्यसो त ३० वर्षे सेवाअवधी कायमै रहेमा चैत १० गते आइजी धीरजप्रताप सिंहसहित उनको व्याचका सबै घर जान्छन् ।

अहिले खालि भएका एआइजी पदमा आइजीकै व्याचबाट बढुवा दिने हो भने नलप्रसाद उपाध्याय, मसुद आलम खाँ र मोहनकुमार आचार्य दावेदार हुन् । हैन, पाँच महिनालाई किन एआइजी बनाउनु भनेर चैत १० मा नियुक्त हुनुपर्ने आइजीका दावेदार तयार पार्न बढुवा दिने भनियो भने क्रमशः बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यसम्मको पालो आउँछ । अर्कातिर, उपत्यका प्रहरीको कमाण्ड सम्हालिरहेका रविन्द्र धानुक घर गएपछि को आउने भन्ने कुराको टुंगो लागेको छैन । अहिलेसम्म तीन दाबेदारबारे चर्चा हुने गरेको छ । एक हुन्, हाल केन्द्रीय अनुसन्धान व्युरोमा रहेका उत्तम सुवेदी र अर्का दिवेश लोहनी या पूजा सिंह ।

त्यस्तै, अस्ति सम्पन्न प्रहरी दिवसमा संगठनप्रति असन्तुष्ट भई जागिर छाडेका वा अपमानजनक हिसाबले निकालिएका हाकिमहरु गएनन् । त्यसरी अमर प्रहरीप्रति श्रद्धाञ्जली दिन नजानेमा पूर्वएआइजी विश्वराज पोखरेल, पूर्वडिआइजी नवराज सिलवाल, रमेश खरेलहरु हुन् । पूर्वआइजिपीमध्ये शैलेस थापा, ठाकुर ज्ञवाली, हेमबहादुर गुरुङ देखिएनन् । तर, काठमाडौंको क्षेत्र नं. ६ मा एमाले उम्मेदवार बनेका सर्वेन्द्र खनाल पुगे ।

भनिन्छ, आफ्नो कार्यकालमा गरिएका नीतिगत निर्णयको कारण भिडन्त वा दरबन्दीमा जाँदा दिवंगत भएका अमर प्रहरीलाई श्रद्धाञ्जली दिने कार्यक्रममा नजानु आफैँमा नमीठो कार्यशैली हो । सँगै जागिर खाएर मारिएका साथीहरुलाई वर्षमा एकदिन फूलको गुच्छा चढाउन अप्ठेरो मान्नुलाई मानवीय निर्णय मान्न नसकिने कतिपय प्रहरी बताउँछन् । सशस्त्र द्वन्द्वकालमा १७ सय प्रहरीले ज्यान गुमाएका थिए । पासिङ आउट, जाँड पार्टीजस्ता कार्यक्रममा मन नलागे नगए हुन्छ तर यस्तो संवेदनशील कार्यक्रम कुनै पनि बहानामा छुटाउन नहुने धेरैको कथन रहेको पाइयो ।

टिप्पणीहरू