मिथ्या सूचनाले मतदातालाई दिग्भ्रमित पार्ने आयोगको भनाइ
निर्वाचन आयोगले मिथ्या सूचना, दूष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न आह्वान गरेको छ । निर्वाचन व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता अपनाउन आग्रह गरेको हो ।
निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचनाले संविधानप्रदत्त मतदाताको अधिकारलाई दिग्भ्रमित पार्ने आयोगको ठहर छ ।
त्यस्तै, द्वेषपूर्ण अभिव्यक्तिले चुनावी बहसलाई ध्रुवीकरण गर्ने, मतदाताबीचमा वैमनश्यता सिर्जना गर्ने, समाजमा निर्वाचनको समय अनावश्यक द्वन्द्व सिर्जना गरी आममतदाताको शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकारको प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने आयोगद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
‘निर्वाचनका समयमा यस्ता खालका राजनीतिक उद्देश्यले राखिएका मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले संविधानप्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने तथा मतदाताको सुसूचित हुन पाउने अधिकार कुण्ठित हुने, मतदातालाई दिग्भ्रमित पार्ने र सही प्रतिनिधि नचुनिने अवस्था सिर्जना हुन सक्छ’, विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन, राजनीतिक दल र उम्मेदवारका बारेमा सत्यतथ्य तथा मतदाताले जान्न पाउने अधिकारको प्रत्याभूत गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाइएको छ । साथै, आयोगले सरोकारवाला सबैलाई निर्वाचनको निष्ठा जोगाउन सहकार्य र सहयोगका लागि अपिल पनि गरेको छ ।
टिप्पणीहरू