अलैंचीको अस्वाभाविक घट्दो दर, मुलुकको अर्थतन्त्रमा असर

अलैंचीको अस्वाभाविक घट्दो दर, मुलुकको अर्थतन्त्रमा असर

-कमल भट्टराई

ताप्लेजुङ, पाँचथर, इलामलगायत पूर्वी पहाडी जिल्लामा प्रख्यात नगदेबालीको रुपमा परिचित अलैंचीका कारण झापा, मोरङ र सुनसरीका घर जग्गाको मूल्य बढेको छ । यसबाट स्वयम् जग्गाधनी र घरजग्गा कारोवारीको आर्थिक अवस्था माथि उक्लन सहयोग पुगेको हो ।

अलैंची केही वर्ष पहिले प्रतिमन (४० के.जी ) को एक लाख रुपैयाँ नाघेको थियो । तर उक्त भाउले निरन्तरता पाउन सकेन । गत वर्ष अहिलेको सिजनमा अलैंचीको भाउ प्रतिमन ४८ हजारमा अडियो । तर यो वर्ष २७ हजारमा सीमित भएको छ ।

केही वर्षयता वर्षेनी अलैंचीको भाउ घट्न थालेपछि सो क्षेत्रका स्थानीयले तराईमा घर जग्गा जोड्ने योजनालाई थाँती राखेका छन् । उनीहरुको क्रयशक्तिमा समेत कमी आएकाले ताप्लेजुङ, पाँचथर, इलामलगायत पूर्वी पहाडी जिल्लाको व्यापारमा मन्दी आएको छ ।

ताप्लेजुङमा केही वर्ष अगाडिसम्म छठ पर्वको आसपास सामानको भाउ बढ्ने विश्वास गरिन्थ्यो । त्यसैगरी रामनवमी आसपास पनि भाउ बढ्ने गरिन्थ्यो । अहिले उक्त अनुमान इतिहासमा सीमित भएको छ ।

ताप्लेजुङका अलैंची व्यवसायी दिनेश अधिकारी भन्छन्, ‘अलैंचीको भाउ घटबढ गर्ने कुनै खास समय र पर्व देखिएन । बरु इस्लाम धर्मावलम्बीका चाडपर्व आसपासमा भने केही भाउ बढेको अनुमान गरियो । अरबौंको कारोवार हुने अलैंचीको भाउ घट्दा मुलुकको अर्थतन्त्रमा यसको केही प्रभाव भने पक्कै परेको छ ।’

टिप्पणीहरू