बालुवाटारको निर्णय कीर्तिपुरे माओवादीले नमान्ने

बालुवाटारको निर्णय कीर्तिपुरे माओवादीले नमान्ने

काठमाडौँ क्षेत्र नम्बर -१० मा मित्रवत प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनका शीर्ष नेताहरुको बालुवाटार बैठकको निर्णय माओवादी केन्द्रको कीर्तिपुर क्षेत्रीय कमिटीले अस्वीकार गरेको छ । माओवादीका स्थानीय नेताहरुले विज्ञप्ति निकालेर बालुवाटार बैठकको पछिल्लो निर्णय आपत्तिजनक रहेको र कुनै हालतमा स्वीकार नगर्ने चेतावनी दिएका हुन् ।

काठमाडौँ-१० मा उम्मेदवारी मनोनयनदेखि नै गठबन्धन नभएकाले शीर्ष नेताहरुको निर्देशन मान्न आफूहरु बाध्य नहुने कीर्तिपुरका माओवादी नेताहरुको भनाई छ । क्षेत्रीय इञ्चार्ज उगर्ने लामा (संजय) र प्रदेश ‘ख’ का इञ्चार्ज पुरुषोत्तम सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना उम्मेदवारहरु कायमै रहेको बताइएको छ ।

सत्ता गठबन्धनको सीट भागबण्डामा काठमाडौँ-१० नेपाली काँग्रेसको भागमा परेको थियो । त्यहाँ काँग्रेसका राजन केसी उम्मेदवार छन् । तर, माओवादीले पनि छुट्टै उम्मेदवारी दिएको छ । माओवादीबाट प्रतिनिधिसभामा अञ्जना विशंखे, प्रदेशसभा (क) मा दिलीप महर्जन र (ख) मा गणेश बहादुर कुँवर उठेका छन् ।यसबाहेक अन्य कतिपय निर्वाचन क्षेत्रमा पनि आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धन दलबाटै अर्को उमेदवारी परेको छ । जसका कारण गठबन्धनको आधिकारिक उम्मेदवार को भन्ने विषयमा कार्यकर्तामा अन्योलता बढेपछि शीर्ष नेताहरुले अस्ति उम्मेदवारको सूची सार्वजनिक गरेका थिए । जसमा प्रतिनिधिसभातर्फ काँग्रेसका केसीलाई आधिकारिक उम्मेदवार तोकिएको छ भने माओवादीका उम्मेदवारलाई मैत्रीपूर्ण प्रतिष्पर्धा गर्न छुट दिइएको छ ।

प्रतिनिधिसभा र प्रदेश (क) मा मित्रवत् प्रतिस्पर्धा गर्ने र (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार आधिकारिक गर्ने उक्त निर्णयमा असहमति जनाउँदै माओवादीले स्थानीय नेता, कार्यकर्ताले आपत्ति जनाएका हुन् । विज्ञप्तिमा कुनै भ्रममा नपरि चुनावी अभियानमा लाग्न कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुलाई निर्देशन दिईएको छ ।

टिप्पणीहरू