आफ्नै ध्वजावाहकमाथि सरकारको रिस,तङ्ग्ग्रन लाग्दा टाउकोमा विष
-द्रव्य शाह
कुनै पनि मुलुकले आफ्नो ध्वजावाहक विमान कम्पनीप्रति गर्व गर्छन् । त्यसमा पनि सरकारी र नियमनकारी निकायको प्रमुख दायित्व भनेको ‘आफ्नो कम्पनी जोगाउने’ हुन्छ । तर, नेपालमा दशकौंदेखि थिलथिलो भएर गत वर्षदेखि नयाँ व्यवस्थापनका कारण मुन्टो उठाउने अवस्थामा पुगेको नेपाल वायुुसेवा निगमलाई पुनः घाँटी अँठ्याइएको छ ।
आफ्नो पोख्ने,अरुलाई बोक्ने नीति अंगिकार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अघिल्लो शुक्रवार निगमलाई पठाएको पत्रका कारण आज दिउँसोदेखि निगमको न्यूनतम दैनिक एक करोड रुपैयाँ चुना लागेको छ । विशेषगरी पर्यटनमन्त्री जीवनराम श्रेष्ठकाे ठाडो आदेश र प्राधिकरणको लिखित आदेशमा निगम निकै अप्ठेरो अवस्थामा पुगेको बताइन्छ ।
‘ट्याक्सी वा जीप सञ्चालन गरेको हिसाबले वायुसेवा कम्पनी चलाउन निर्देशन दिन थालेपछि नाफाभन्दा घाटा धेरै हुनु स्वाभाविक हो,’ मन्त्रालय स्रोतले भन्यो । मन्त्रीले तुरुन्त भैरहवाबाट अन्तर्राष्ट्रिय उडान थाल्न दिएको आदेश र एक साताअघि प्राधिकरणकाे नयाँ दिल्लीको उडान कटौतीको लिखित आदेशका कारण आजदेखि निगमले दिनहुँ करोड घाटा व्यहोर्न थालेको छ ।’
तर निगमले आफूले आगामी डिसेम्बर महिनाभित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने लिखित वचनबद्धता जनाएको गत आइतवार प्राधिकरणलाई लेखेको पत्रमा उल्लेख छ । कुनैपनि अन्तर्राष्ट्रिय उडानको निम्ति सबै व्यवस्थापन मिलाउनुपर्ने विमान कम्पनीको अनिवार्य शर्त हो ।
‘मार्केटिङ,इञ्जिनियरिङ ब्याकअप,अपरेसन व्यवस्थापनअन्तर्गत होटल,पाइलट,उडान दलका कर्मचारी सबै व्यवस्थापन नगरी फुत्त उडाउन मिल्दैन,’ स्रोतले भन्यो, ‘पहिलो कुरो प्यासेञ्जर चाहियो । मन्त्रीले भन्दैमा आजको भोलि उडान हुँदैन । योजना बनाएर उडान थाल्छौं,डिसेम्बरको अन्तदेखि भैरहवाबाट उडान थाल्ने प्रतिबद्धतासहितको पत्र पठाइएको थियो । तर, उल्टो निर्देशनले निगम धराशायी हुने बाटोमा गएको छ ।’
“भारतीय निजी विमान कम्पनी इण्डिगोले नयाँ दिल्ली –काठमाडौं दिनको तीन वटा र साताको २१ उडान गर्ने स्लट पाएको छ । तर उसको उडान संख्याबारे केही नभन्नुले जिम्मेवारी र दायित्वको डाडु हातमा लिएकाले कसको हितमा पछिल्लो हर्कत गरे भन्ने स्पष्ट भएको छ ।”
मन्त्रालयकाे निर्देशनबमाेजिम प्राधिकरणले निगममाथि गलत धारणा बनाएकाे त्यहाँका ट्रेड युनियनहरूले बताएका छन् । काठमाडौं–नयाँ दिल्लीको निम्ति साताको १४ वटा फ्लाइट भएकोमा एकाएक चार वटा स्लट झिकिएको छ । भैरहवाबाट रातारात जहाज नउडाएको आरोपमा आरएनसीलाई कारवाहीस्वरुप क्यानले नयाँ दिल्लीको उडान अब १० वटामा झारेको हो ।
जबकि भारतीय निजी विमान कम्पनी इण्डिगोले नयाँ दिल्ली –काठमाडौं दिनको तीन वटा र साताको २१ उडान गर्ने स्लट पाएको छ । तर उसको उडान संख्याबारे केही नभन्नुले जिम्मेवारी र दायित्वको डाडु हातमा लिएकाले कसको हितमा पछिल्लो हर्कत गरे भन्ने स्पष्ट भएको छ ।
उड्डयन क्षेत्रका विज्ञहरुका अनुसार कुनै पनि मुलुकमा नयाँ विमानस्थलको निर्माणपछि उडानको निम्ति नयाँ विमान कम्पनीलाई सुविधा घोषणा गर्दै आकर्षित गराइने प्रचलन छ । सामान्यतयाः पुरानो विमानस्थलबाट उडान गरिरहेका पुराना कम्पनीलाई अनुरोध गरे पनि उडानकै निम्ति दबाब दिन नमिल्ने बताइन्छ ।
यसबीचमा नयाँ दिल्लीको निम्ति निगमको कम्तीमा एक साताभन्दा बढी समयको टिकट पूर्ण रुपले बुकिंग भइसकेको छ । तर आजदेखि उडान कटौती भन्दै प्राधिकरणले निगमको दिल्ली उडानमा रोक लगाइदिँदा यात्रु विमानस्थल पुगेर अलपत्र परेका हुन् ।
महिनौंअघि टिकट काटेका यात्रु मन्त्रालयको निर्देशनमा प्राधिकरणको ठाडो निर्देशनका कारण अलपत्र भएका हुन् । अन्तिम समयसम्म निगमले उडानको प्रयास गर्दा पनि प्राधिकरण टसको मस नभएपछि साढे दुई सय यात्रुलाई तारे होटलमा राख्न निगम बाध्य भएको छ ।
भोलिको पनि एउटा उडान कटौति गरिएकाले यो अवस्था अब केही दिनसम्म रहने बताइन्छ । निगम व्यवस्थापनले रि–रुट, होटल बुकिंग गरेर यात्रुको व्यवस्थापन गरे पनि करोडौं घाटा भएको छ । अर्कोतर्फ बढ्दै आएको ‘गुडविल’ पनि नष्ट हुने अवस्थामा पुगेको छ । काठमाडौं–नयाँ दिल्ली एउटा उडान रोकिँदा न्यूनतम एक करोड घाटा हुने निगमको हिसाब छ ।
‘भैरहवाबाट तत्काल उडान नथालिएकोलगायत रिस हामीलाई पोखियो । इण्डिगो, कतारलगायत कम्पनीको दैनिक तीनदेखि चार वटा उडान भए पनि त्यसबारे केही भनिएको छैन । उनीहरुको कटौती हुने छाँटकाँट छैन,’ निगम कर्मचारी संघले भन्याे ।
नयाँ दिल्ली सेक्टरमा निगमको उडानबाट राम्रो नाफा भएकाले बक्र दृष्टि लगाइएको स्पष्ट भएको छ । मुलुकको ध्वजावाहक कम्पनीलाई ध्वस्त बनाएर आफ्नो स्वार्थपूर्ति गर्ने नियमनकारी निकाय र सरकारी अधिकारीहरुको नियतले वायुसेवा निगमको भविश्यमाथि थप कालो बादल मडारिएको बताउन थालिएको छ ।
अर्कोतर्फ मुम्बईबाट भारतीय विमान कम्पनीहरुले काठमाडौं उडान गर्न खोजेको बताइन्छ । उक्त रुटमा पनि निगमले यात्रुको राम्रो ‘रेस्पोन्स’ पाएको डाहा गर्नेहरु विदेशमा भन्दा स्वदेशमै देखिएको पछिल्लो घटनाले समेत पुष्टि गरेको छ ।
अर्कोतर्फ भैरहवाको नयाँ विमानस्थलबाट हिमालयन, कतारलगायत अन्य विमान कम्पनीले उडान गर्न नचाहनुको प्रमुख कारण त्यहाँ श्रम डेस्कको स्थापना नहुनु हो । विशेषगरी तराई–मधेश र पश्चिम नेपालका सर्वसाधारण र वैदेशिक रोजगारमा जान चाहनेलाई विदेश उड्नको निम्ति त्यहाँ रहेको पर्याप्त साधारण होटलको अभाव, राहदानी वितरण इकाइ र श्रम डेस्कको अनिश्चिततातर्फ भने न पर्यटन मन्त्रालय न प्राधिकरण कसैलाई पनि चासो देखिँदैन ।
टिप्पणीहरू