भाउजू र भतिजीलाई घरभित्रै आगो लगाउन खोज्ने धितालको जेलभित्रै गयो ज्यान

भाउजू र भतिजीलाई घरभित्रै आगो लगाउन खोज्ने धितालको जेलभित्रै गयो ज्यान

लमजुङ जिल्ला कारागारमा हिजो बिहान सबेरै एक जना कैदी बितेको खबर बाहिरिएको छ । बिरामी कैदीहरु कोही जेलमा र कोही उपचारको क्रममा अस्पतालमा बित्नुलाई पनि एउटा नियमित प्रवृत्ति नै मानिन्छ ।

हिजो बितेका कैदीको विगत भने केही फरक रहेको पाइएको छ । उनी आफ्नै भाउजू र भतिजीलाई घरभित्रै आगो झोसेर मार्ने कार्यमा संलग्न भएको आरोप प्रमाणित भएपछि जेल परेका हुन् । डेढ वर्षअघि उनले दाजुको घरमा बाहिरबाट आगो लगाएका थिए ।

२०७८ बैशाखको चर्को घाममा रोहनराज धितालले आफ्नै दाजु भविश्वर धितालको घरमा आगो झोसेका थिए । भाउजू र भतिजीलाई भित्रै थुनेर बाहिरबाट आगो लगाइदिएका हुन् । दाइको घरमा आगो झोसेर भाउजू र छोरी मार्न खोजेका ३४ वर्षे धिताल हिजो राति अचानक बितेका छन् ।

नशालु पदार्थको अत्यधिक सेवन गर्ने धिताल त्यही सुरमा दाइको घरमा आगो लगाउन पुगेका थिए । २०७८ वैशाख १२ गते भाउजूले उजुर गरेपछि पक्राउ परेका थिए । एक छोराको बाउसमेत रहेका दूधपोखरी गाउँपालिका–१ लमजुङका धिताललाई १५ दिनपछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

जिल्ला अदालत लमजुङले २०७८ पुस २१ गते आपराधिक उपद्रव कसुरमा दुई वर्ष कैद, २० हजार जरिवानासहित सोही रकम बराबर क्षतिपूर्तिको सजाय सुनाएको थियो । फैसलापछि कैद भुक्तान गर्दै आएका धिताल आइतबार बिहानीपख कारागारभित्र छटपटाएको बताइन्छ ।
साढे २ बजेतिर सास फेर्न गाह्रो भयो भन्दै छट्पटाएपछि नजिकैको जिल्ला अस्पताल लमजुङ लगियो । तर अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको एक जना नर्सले जानकारी दिइन् ।

शनिवार साँझ खाना खाएर सुतेका धितालको मृत्युु हृदयाघातबाट भएको पोष्टमार्टमपछि अस्पतालले जनाएको छ । आगामी बैशाख १२ गते छुट्ने क्रममा रहेका धितालभन्दा पहिले सोही कारागारमा वासुदेव अधिकारी र रामबहादुर बिकको पनि मृत्यु भएको थियो ।

-अञ्जनकुमार

टिप्पणीहरू