पाकिस्तानी प्रधानमन्त्री फिर्ता,जर्मन चान्सलर बेइजिङ पुग्दै,नेपाल बुझेका कूटनीतिज्ञलाई काठमाडौं पठाईंदै

पाकिस्तानी प्रधानमन्त्री फिर्ता,जर्मन चान्सलर बेइजिङ पुग्दै,नेपाल बुझेका कूटनीतिज्ञलाई काठमाडौं पठाईंदै

चीनले नेपालस्थित दूतावासमा नयाँ राजदूतको नाम सार्वजनिक गरिसकेको छैन । यसअघिका राजदूत हौ यान्छी कार्यकाल पूरा गरेर अघिल्लो मङ्गलवार स्वदेश फर्केपछि काठमाडौंमा राजदूत पद रिक्त छ । वाङ्ग सिनले कार्यवाहकको रूपमा काम चलाइरहेका छन् ।

हौलाई चीन सरकारले दक्षिण पूर्वी एसियाली मुलुकहरुको सहयोग संगठन आसियानको जकार्तास्थित मुख्यालयमा चीनको प्रतिनिधि नियुक्त गरिसकेको छ । छिमेकी मित्रराष्ट्र नेपालसँगको घनिष्ठ सम्बन्धलाई ध्यानमा राखेर चीनले नेपाल बुझेको र दक्षिण एसियाली क्षेत्रको जिम्मेवारीमा रहेका सहसचिवलाई नयाँ राजदूतको जिम्मेवारी दिएर पठाउने तयारी भैरहेको बेइजिङ्गस्थित नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठले बताए ।

उता,चिनियाँ कम्युनिष्ट पार्टीको दुई साताअघि सम्पन्न २० औं राष्ट्रिय महाधिवेशनले महासचिव सि जिनपिङलाई नै तेस्रो कार्यकालमा निर्वाचित गरेपछि विश्वका नेताहरुलाई महादेश छुट्याएर छानिछानी बोलाउने क्रम शुरु भएको छ । पाकिस्तानी प्रधानमन्त्री अस्ति साँझ बेइजिङ पुगेर हिजो साँझ स्वदेश फर्केका छन् ।

अब छिट्टै अफ्रिकी राष्ट्र तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन र जर्मन चान्सलर ओलाफ सोल्जले पनि चीनको औपचारिक भ्रमण गर्न लागेको बताइएको छ ।

टिप्पणीहरू