किसानको निम्ति पाखा लागे महरा
बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका हरि महरा चुनावी मैदानबाट फिर्ता भएका छन् ।
उम्मेदवारी फिर्ता लिँदै उनले वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) लाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
क्षेत्र नम्बर ४ को समग्र विकासका लागि आफ्नो सोचसंग साझा उम्मेदवार श्रेष्ठको योजना मिल्ने भएकाले आफू पछि हटेको महराले स्पष्ट पारेका छन् ।
‘आफ्नो सोचसंग वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) को योजना मिलेपछि उनलाई समर्थन गरी उम्मेदवारी निष्कृय पार्ने निर्णय गरिएको हो’, महराले भने ।
जनमत पार्टीका जिल्ला अध्यक्ष महराले स्वतन्त्र उम्मेदवारी दिई प्रचार अभियानलाई तीव्र पारिसकेका थिए ।
महराले बारामा आँखा अस्पताल स्थापना गरी बारा,पर्सा र रौतहटमा आँखा शिविर सञ्चालन गरेर समाजसेवा गर्दै आएका छन् ।
त्यस्तै, नेता श्रेष्ठले महराको समर्थनले आफ्ना प्रतिस्पर्धी थप कमजोर बनेको बताएका छन् ।
टिप्पणीहरू