नापीको कमाईबाट संघीय उम्मेदवार बनी नाच्दै

नापीको कमाईबाट संघीय उम्मेदवार बनी नाच्दै

मुलुक निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगद्वारा जारी आचारसंहिता उलंघन गर्ने उम्मेदवारहरुलाई आयोगले स्पष्टिकरणको झटारो हानिरहेको छ । तर काठमाडौमै एक यस्ता उम्मेदवार पनि छन् जो लगातार दिनहुँ निर्वाचन आचारसंहिताको उलंघन गरिरहेका छन् र आयोगले उनलाई छुट दिइरहेको छ । काठमाडौ निर्वाचन क्षेत्र नम्बर ७ का स्वतन्त्र उम्मेदवार इश्वर अर्यालले दैनिक आचारसंहिता उलंघन गर्दा पनि आयोगले बेवास्ता गरेको हो ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा प्रष्ट रुपले उम्मेदवारले मूल्यअंकित सामग्री निर्वाचन अवधिभर मतदातालाई प्रभावित पार्नेगरी वितरण गर्न पाइनेछैन भनी उल्लेख गरिएको छ । तर इश्वरले भने हिजोसम्म पनि दिनभर नापी विभागबाट खरिद गरिएको नेपालको नक्शा घरघरमा गई आदरणीय बा, दाजु भन्दै मतदातालाई वितरण गरिरहेका छन् । नापी विभागकै पूर्व कर्मचारी इश्वरले त्यहींबाट नक्शा खरिद गर्न लगाई मतदातासमक्ष निशुल्क वितरण गरिरहेका हुन् ।नापी विभागमा कार्यरत रहँदा इश्वर नेपाली कांग्रेसको भातृ संगठन निजामती कर्मचारी युनियन, भूमिसुधार मन्त्रायलयको लामो समय विभागीय अध्यक्ष रहेका थिए । आफू स्वयं पनि २०६० सालदेखि २०७४ सालसम्म उपत्यकाका कमाई हुने कार्यालयका रुपमा चिनिएका चाबहिल, बुढानिलकण्ठ, धापासी नापी केन्द्रहरुमा बसेका हुन् । गोरखाका सामान्य परिवारका तर चतुर इश्वर जागिरे अवधिभर नेकाको साथ लागी कर्मचारीका नेता बनिरहे र कमाई हुने उपत्यकाका कार्यालयमा बसे ।

जम्मा २२ वर्ष जागिर खाएर जीवनभर पुग्नेगरी कमाई गरेका उनले गत साउन ३ गते राजिनामा दिएर नेकाका नेताहरुको घरघरमा डेरा जमाए । उनको इच्छा काठमाडौबाटै नभए गोरखाबाट भएपनि प्रतिनिधी सभा सदस्यको टिकट फुत्काउने थियो । तर कसैबाट पनि सकारात्मक प्रतिक्रिया नपाएपछि उनी एमाले अध्यक्ष केपी ओलीलाई टिकटका लागि खुशामद गर्न बालकोट पुगे । एमालेबाट टिकट पाउने त सम्भावना नै थिएन ।

अन्तिममा उनी काठमाडौ ७ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् । उम्मेदवार बनिसकेपछि उनले भूमिसुधार मन्त्रालयमा युनियनको अध्यक्ष रहँदा कमाउ कार्यालयमा पदस्थापना गरिदिएका सहकर्मी जागिरेहरुलाई भनी नक्शा सहयोगस्वरुप लिने गरेका छन् । इश्वरको फोन आयो कि अचेल नापीका कर्मचारी अब नक्शा किन्न लगाउने भयो भन्दै झर्कने गरेका एक कर्मचारीले बताए । उनकै सहयोगमा उपत्यकाका कमाउ नापी कार्यालयहरुमा बसेका सर्भेक्षक हरिश्चन्द्र तिवारी त बहालवाला कर्मचारी भएर इश्वरकै प्रचारमा हिंडी सामाजिक सञ्जालबाट समेत मत मागिरहेका छन् । हरिश्चन्द्र स्वयं पनि ललितिपुर नापी कार्यालयमा रहँदा नियम विपरित हजारौं कित्ता जग्गाको कित्ताकाट गरी ५७ लाख घुस असुलेको आरोपमा विभागमा उजुरी परेपछि कार्यालयबाट विभागतिरै बरालिइरहेका छन् । इश्वरका लागि भूमिसुधारका कर्मचारीहरुसँग समन्वय गरी सहयोग जुटाउने काम यिनै हरिश्चन्द्रले गरिरहेका बताइएको छ ।

टिप्पणीहरू