बूढानीलकण्ठमा सर्वाधिक घुइँचो (फोटो फिचर)
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन छ ।
हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने धार्मिक प्रचलन छ । सोहीअनुसार आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
एकादशीहरुमध्ये सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको ब्रत गरी विशेष पूजा गर्छन् । आषाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने धार्मिक विश्वास छ ।
हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हिन्दू धर्मावलम्बीहरु बताउँछन् ।
आज घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा पनि विशेष पूजा गर्ने चलन छ । तुलसीको पूजा गरिएको घरमा यमदूत समेत पस्न नसक्ने धार्मिक विश्वास छ । आजका दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ ।
तुलसीको विरुवा र पातको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।
टिप्पणीहरू