श्रमसहचारी म्यानपावरको मार्केटिङमा,राजदूत मुकदर्शक
मलेसियाका लागि नेपाली राजदूतावासमा कार्यरत श्रम सल्लाहकार दीपक ढकाल र श्रम सहचारी प्रकाश पन्थीमाथि मेनपावर कम्पनीको मार्केटिङ गरेको आरोप लागेको छ । ढकाल र पन्थीले पदीय जिम्मेवारी बिर्सेर नेपाली मेनपावर कम्पनीको खुल्लमखुल्ला प्रचारप्रसार गरेको भन्दै उक्त आरोप लागेको हो ।
म्यानपावर कम्पनीले विभिन्न रोजगारदाता कम्पनीबाट ल्याएको ‘डिमाण्ड’ प्रमाणीकरणमा ढिलासुस्ती गर्दैआएको धेरैले अनुभूति गरेका छन् । उनीहरूले नेपालमा रहेका केही म्यानपावर कम्पनी र मलेसियामै रहेका व्यवसायीसँग मिलेर उक्त अवैध धन्दा चलाउँदै आएको दूतावास स्रोतको दाबी छ ।
ढकाल र पन्थीले त्यस्ता डिमाण्ड प्रमाणीकरणका लागि दूतावास पुगेका अन्य कम्पनी तथा एजेण्टलाई झुलाएर आफ्नो गिरोहसम्म पुर्याएपछि पछिल्लो आरोप लागेको हो । ‘आफू संलग्न समूह वा कम्पनीमार्फत् नआएका फाइल उनीहरू खोल्दैनन् । सोझै दूतावास पुगेका फाइलमाथि अनेकौँ बहाना बनाएर अड्काउँछन्,’ दूतावासका एक जना कर्मचारीले बताए ।
श्रमसहचारीद्वय ढकाल र पन्थीको रवैयाका कारण तल्लो तहका कर्मचारी आजित बन्नु परेको उनीहरुको गुनासो छ । फाइल बोकेर दूतावास आएकालाई अन्यत्र भेट्न पठाएपछि ‘ढकाल—पन्थी’ रणनीति भन्ने गरिएको हो ।
अन्यत्रबाट आवश्यक काम तमाम भएको हरित संकेत मिलेपछि फटाफट काम हुने गरेको भुक्तभोगीहरु बताउँछन् । ‘दूतावास दलालहरूको चंगुलमा फसेको छ । मलेसियाको कुरा गरेर साध्यै छैन । दूतावासका श्रमसहचारी दीपक र प्रकाश सरले एउटा गिरोह खडा गरेका छन्,’ कर्मचारीले भने । उनीहरूका गलत कार्यको जानकारी महामहिमलाई समेत भएको तर, उहाँ मुकदर्शक बन्नुभएको व्यवसायीहरुको बुझाइ छ ।
दूतावासमा दर्ता भएका फाइलमाथि आवश्यक अध्ययन गरेपछि दुई साताभित्र अनलाइन गर्ने व्यवस्था गरिएको छ । तर श्रम सल्लाहकार र श्रम सहचारीले बेलैमा ओके गरेका फाइल भोलिपल्टै अनलाइन हुनुले पनि ‘दालमा कुछ काला’ भएको हो । नेपालका केही म्यानपावर कम्पनीको खुलेरै मार्केटिङ गरेपछि धेरैले अचम्म मानेका छन् ।
‘इमान्दार कम्पनी सबै कागज बोकेर आउनुहुन्छ । उहाँहरूलाई यो पुगेन र त्यो पुगेन भनेर होल्डमा राखिन्छ । केही दिनपछि कुरो मिलेको संकेत पाएपछि काम सम्पन्न गराईन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा अर्का एक जना कर्मचारीले भने ।
कोभिड १९ महामारीको लामो समयपछि मलेसियाको रोजगारी खुलेका कारण अहिले ढकाल र पन्थीलाई अचम्मको भ्याइ–नभ्याइ भएको बताइन्छ । ‘दिउँसो दूतावासमा र साँझ बिहान बाहिरको दौडधुपका कारण उहाँहरु व्यस्त हुनुभएको हो,’ व्यङ्ग्य गर्दै एक जना कर्मचारीले भने ।
टिप्पणीहरू