अध्यक्ष ओलीको भाषण नसकिँदै अध्यक्षमा उहाँका प्रतिद्वन्द्वीको कटाक्ष
एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो सुदूरपश्चिमको विकट दार्चुला जिल्लाबाट चुनावी सभा प्रारम्भ गर्नुभएको छ । उहाँले हिजै सो क्षेत्रका तीन वटा जिल्लामा भाषण गर्नुभयो । ओली हेलिकप्टरमा दार्चुलाको खलंगा,बैतडीको पाटन र कञ्चनपुरमा आयोजित सभालाई सम्बोधन गर्न पुग्नुभएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ गठबन्धन र अन्य राजनीतिक दलप्रति चर्को आक्रमण गर्नुभएका ओलीले कञ्चनपुरको सभामा एमाले नेता भीम रावलको नामै किटेर उत्तेजित भाषण गरेपछि डा. रावलले पनि लगत्तै सामाजिक सञ्जाल रंगाउनुभएको छ ।
कञ्चनपुरको उत्तेजित भाषणको जवाफ दिँदै रावलले ‘भीम रावलको तपाईंलाई किन चिन्ता ?’ भनेर प्रश्न गर्दै ओलीप्रति आक्रामक स्टाटस लेख्नुभएको छ, ‘०४८ सालदेखि एक छिन मुख खाली छैन,बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता,अरुलाई पालो दिनु पर्दैन,एउटै भीम रावल,भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल,थुप्रै रावलहरु हुनुहुन्छ त सुदूरपश्चिममा,थुप्रै रावलहरुलाई अगाडि बढाइन्छ ।’
“अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राम्हण र क्षेत्री गरी थुप्रै ओलीहरु छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त ?’
नेता रावलले ओलीको भनाइले उहाँभित्र बलिरहेको राजनीतिक क्रोध,द्वेषपूर्ण दुर्भावलाई उदाङ्गो पारेको ठहर गर्नुभएको छ । ओलीले आाफ्ना विरोधीसँग सँधै बदला लिने र निषेधको राजनीति गर्दै आउनुभएको रावलको भनाइ छ ।
रावलले उहाँको भनाईले यस्ता प्रश्न स्वतः उठ्छन् भन्दै लेख्नुभएको छ, ‘ (१) मलाई ०४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ । तर सांसद ०५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद,मन्त्री,पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ । कहिल्यै मुख खाली छैन र फेरि पनि खानको लागि मुख किन बाउनु भएको त ?’
नेता रावलको उक्त भनाइले अध्यक्ष ओलीले सँधै राजनीतिक अवसर पाएको, पटक पटक प्रधानमन्त्री भएको व्यक्तिले पनि अझै अवसर खोज्नु गलत भएको अर्थ लगाएको छ । अरुलाई अवसरको निम्ति मरिहत्ते गरेको भन्दै आउनुभएका उहाँलाई रावलले पुनः प्रधानमन्त्री हुन विभिन्न हतकण्डा प्रयोेग गरेको भावको आरोप लगाउनुभएको छ ।
दोस्रो बुँदामा उहाँले आफू भर्खर ६७ वर्ष लागेकालाई बूढो भन्ने ओलीले ७० वर्ष काट्दा पनि पुनः सांसद र प्रधानमन्त्री हुने दौडमा लाग्नुलाई दोहोरो मापदण्ड भन्नुभएको छ । रावलले सोध्नुभएको छ, ‘मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?’
अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्ने नेता रावलको भनाइ छ । ‘तर अरुलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?’ उहाँले प्रश्न सोध्नुभयो ।
अध्यक्ष ओलीले थर विशेषलाई उल्लेख गर्नुभएकोमा रावलले सबैभन्दा धेरै आक्रोश पोख्नुभएको देखिन्छ । सुदूरपश्चिममा थुप्रै रावल भएका र तिनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रुपमा अपमान हुने गरी बोल्नु भएको उहाँको आरोप छ । सामाजिक सञ्जालमा लेखिएको छ, ‘स्मरण रहोस् अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राम्हण र क्षेत्री गरी थुप्रै ओलीहरु छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त ?’
जिल्लाबाट सर्वसम्मत उम्मेदवार सिफारिसमा परेको तर अध्यक्षको कोपभाजनमा पारिएको सन्दर्भलाई पनि उहाँले कोट्याउनुभएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्ने क्रममा देखाइएको प्रदर्शन र उत्तेजनालाई उहाँले उम्मेदवारीबाट पन्छाइएको सन्दर्भ जोड्नुभएको हो । उहाँले अध्यक्षको भाषणबाट अछामी जनताले गरेको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको ठहर गर्नुभएको हो ।
टिप्पणीहरू