माया कागजमा होइन, मनभित्र हुन्छ : भानुभक्तकी पूर्वपत्नी
‘कागजमा सम्बन्ध टुटे पनि माया कहिल्यै टुङ्गाएको थिइनँ’– सीता भक्कानिँदै भन्छिन् ।काजकिरिया सकिएको अन्तिम दिन गहभरी आँसु पार्दै कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताएकी उनले भनिन्, ‘खोई उहाँको इच्छा पूरा गरिदिएको मात्र…’ भन्न नभ्याउँदै आँखाबाट बलिन्द्रधारा आँसुले सीताको मुहार भिजाइरहेको थियो ।
उनको ती आँखाबाट बगिरहेका आँसुका ढिक्काले पतिप्रतिको मायाका भावहरुलाइ छर्लङ्ग पारिरहेको थियो ।
झापाको मेचीनगर नगरपालिका–७ की सीता खड्का अहिलेसम्म पनि पूर्वपतिको मृत्युको कारण भक्कानिरहन्छिन् । उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । असोज २९ गते बस्नेतको शव मेचीनगर–१४, दुहागढीस्थित साहिँला भाइको घरमा आइपुग्यो ।
सोही दिन कन्काई नदीको घाटमा उनको दाहसंस्कार भयो । पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन ७ वर्षीय छोरा प्रतिस बस्नेत र १६ वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का घाट पुगेकी हुन् ।
बलिन्द्रधारा आँसु खसाल्दै श्रीमानको दाहसंस्कार गर्न पुगेकी सीता छाती पिट्दै र छट्पटिँदै भक्कानि थालिन्, ‘मैले कहाँ सम्बन्धविच्छेद गर्न कहाँ चाहेको थिएँ र ! उहाँकै जोडबलमा सम्बन्धविच्छेदको कागजमा सहीछाप गरिदिएको थिएँ । उहाँको इच्छा पूरा गर्देको थिएँ । मैले सोचेको थिइनँ आज यसरी मलाई छाडेर जानुहुन्छ होला भन्ने । सम्बन्धविच्छेद भए पनि ससुराली आइरहनु हुन्थ्यो । मैले जाँड रक्सी नखानु सुध्रिएर आउनुसमेत भनेको थिएँ ।’
छोराछोरीलाई साथमा राखेर मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको अहिले पनि मुटुमा गाँठो पारेर बताउँछिन् ।
सम्बन्धविच्छेदपछि बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी हुन् । ‘सुध्रिनुहुन्छ होला भनी अलग बसेँ । तर आज एक्लो पार्नुभयो । त्यो कागजी सम्बन्धविच्छेद गर्दैमा मेरो माया कदापी टुङ्गिएको थिएन,’ उनले भनिन् ।
आज सीताको पूर्वश्रीमानप्रतिको मायाले कागजी सम्बन्धका कारण मनभित्रको माया सजिलै टुङ्गिदैन भन्ने कुरालाई प्रष्ट पारेको छ ।
टिप्पणीहरू